कूप्रथाविरुद्धको अभियान समेट्दै ‘अग्नीदहन’को ट्रेलर सार्वजनिक

काठमाडौं । मंसिर ७ गते रिलिज हुने चलचित्र ‘अग्नीदहन’को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।
दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको मानसिक र शारीरिक यातनालाई समेटिएको छ ।
समाजसेवीको भूमिका निभाएका पुरुष प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझांक्री लगाउन भन्दै उनलाई दिइएको यातनालाई ट्रेलरमा स्थान दिइएको छ । बोक्सीको आरोप लगाइएकी माइली दमिनी भनिएकी महिला प्रमिला तुलाचनले चलचित्रकी कलाकार अनुपमा भण्डारीलाई ‘अञ्जली म तिमीलाई लिन आएको’ भन्दै बोलाउन थालेपछि अनुपमामा देखिएको त्रासलाई ट्रेलरमा देखाइएको छ । बोक्सीको आरोप लागेपछि महिला कतिसम्म विक्षिप्त हुन्छन् भन्ने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।
चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनले बताए । सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको फिल्ममा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । फिल्मको बिशिस्ट सरक्षक भुबनेश्वर शर्मा पौडेल र मोहनराज पौड्ल हुन । डिसिएन बितरक रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर रहेको छ ।
फिल्मको अन्तर्राष्ट्रिय बजार ब्यबस्थापन कृश्मा सुबेदी (श्रीनुर) र बरुण कुमार आचार्याले गर्ने भएका छन्। नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मले मोफसल प्रचारयात्रा पोखरा बाट सुरु गरेको छ ।