कति पायो आज ‘पूर्ण बहादुरको सारङ्गी’ले शो ? क्यूएफएक्समा मात्रै ११२ शो
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले आज देशभर उच्च शो पाएको छ । यो चलचित्रले देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्रै ११२ शो पाएको छ ।
क्यूएफएक्सले काठमाडौंमा ५५ शो दिएको छ । खल्ती एपबाट आज ‘पूर्ण बहादुरको सारङ्गी’लाई ३५८ शो दिएको देखिएको छ । यसबाहेक पनि शो हुने भएकाले आज यो चलचित्रले हिजोको भन्दा धेरै शो पाएको निश्चित छ ।
हिजो ‘पूर्ण बहादुरको सारङ्गी’ले ८१ हलमा ३८० भन्दा धेरै शो पाएको थियो । याे इतिहासकै धेरै शाे हाे ।
यो सिनेमाले सात दिनमा सवा ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणपक्ष लगानी उठाएर नाफामा समेत गइसकेको छन् ।
घरेलु बक्सअफिसमा आक्रामक बनेपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । जापानको टोकियोमा हाउसफुल शोबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफल भएको चलचित्र अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शन हुन लागेको हो । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।
यो चलचित्र अष्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रबारदेखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।
सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । चलचित्रले गन्धर्व समुदायको कथा भन्छ । छोराको भविश्यका लागि बुवाले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।