बलियो लाइनअप बनाउँदै दीपेन्द्र, ‘हरिबहादुरको जुत्ता’मा प्रियंकाको प्रवेश
काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को लाइनअप बलियो बन्दै गएको छ । प्रियंका कार्कीको प्रवेशसँगै चलचित्रको लाइनअप बलियो बन्दै गएको हो । निर्माणपक्षले आज ‘हरिबहादुरको जुत्ता’मा प्रियंकालाई अनुबन्ध गरेको हो ।
यसअघि शुक्रबार नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी थिइन् । प्रियंका र स्वस्तिमासँगै प्रकाश सपूत पनि अनुबन्ध भइसकेका छन् । ‘हरिबहादुरको जुत्ता’मा मुख्य भूमिकामा हरिवंश आचार्य छन् ।
‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो सिनेमा निर्माण गर्न लागेका छन् । ओली पहिलोपटक सिनेमा निर्माण गर्न लागेका हुन् ।
हरिवंशले सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । उनले चलचित्र युनिक आइडियामा बन्न लागेको बताएका छन् । सरोज, प्रियंका र हरिवंशले गीत र म्युजिक भिडियोमा बाक्लै काम गर्दै आएका छन् । निर्देशक दीपेन्द्रले भने हरिवंश र प्रकाशसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।