‘तेल भिसा’बारे विपीन, वर्षा र ऋचाका यस्ता कुरा
काठमाडौं । चलचित्र ‘तेल भिसा’का अभिनेता विपीन कार्कीले अमेरिकामा छायांकन हुँदा पनि खासै कठिन नभएको बताए । सुरुकै मानसिक रुपमा तयार रहेकाले पनि असहज महसुस नगरेको उनको भनाइ छ ।
विदेशमा रहेका कलाकारले चाहेर पनि कलाकारिता गर्न नपाइरहेको तर कलाप्रतिको भोक र सम्मान उत्तिकै रहेको पाएकाले पनि काम गर्न सहज भएको उनले बताए ।
सोमबार पत्रकार सम्मेलनमा उनले डबल रोल गर्न केही कठिन भएको बताए । ‘तेल भिसा’मा उनी दोहोरो भूमिका छन् । “मलाई एउटै क्यारेक्टर गर्न पनि कठिन हुन्छ । दुईटा भनेपछि त झन कठिन हुने नै भयो,” विपीन भन्छन्, “तर दोहोरो भूमिका छ भन्नवित्तिकै मैले क्यारेक्टरबारे सोच्न थालेको थिएँ ।”
तर, एउटा रोल नेपालमा र एउटा रोल अमेरिकामा गरेकाले केही सहज भएको उनको भनाइ छ । उनले दुईवटा सिनेमामा काम गरेजस्तो भएको बताए । मलाई त घाटा लागेजस्तो लागिरहेको छ, दुईवटा सिनेमाको काम एउटैमा गरेजस्तो लागिरहेको भन्दै उनले ठट्टा गरे ।
अभिनेत्री तथा निर्माता ऋचा घिमिरे विपीनका कारण काम गर्न सहज भएको बताइन् । उनको सरलपनले सिनेमाको काम गर्न सहज भएको उनले स्पष्ट पारिन् । अमेरिकाको परिवेश नबुझ्ने हो भने काम गर्न कठिन हुने उनको भनाइ छ ।
“उहाँ अनस्क्रिन मात्रै होइन, अफ स्क्रिन पनि त्यति नै सरल हुनुहुन्छ । उहाँको जुन स्टारडम छ, त्यही अनुसार उहाँको व्यवाहार हुने हो भने अमेरिकामा काम गर्न सहज थिएन,” ऋचा भन्छिन्, “स्टारडम र क्वालिटीअनुसार विपीन ५० लाख मात्रै होइन एक करोड रुपैयाँ डिजर्व गर्ने कलाकार हो ।”
आफूलाई अझै अभिनयमा काम गर्ने भोक नमरेको बताइन् । “मेरो सिन प्याकअप हुँदा म दुःखी भएको थिएँ । ला मेरो काम सकियो भनेजस्तो भएको थियो,” उनी भन्छिन्, “मलाई काम गर्ने रहर नै पुगेको छैन । अझै काम गर्न पाए हुन्थ्यो भन्ने भइरहेको थियो ।
अभिनेत्री वर्षा राउतले आफूले गर्भवतीको भूमिकामा चलचित्रमा काम गर्दा साँच्चै गर्भवती भनेर बधाई आएको बताइन् । “ममीले नानी बधाई छ भनेर कमेन्ट आइरहेको छ किन भनेर फोन गर्नुभयो,” उनले भनिन्, “मैले खाना खाएर होला भनेँ, त्यसैले मेरो घरमा मलाई मोटो देखिन्छ भनेर खाना खानै दिनु हुन्न ।”
बेली लगाएर सुटिङ गर्दा विदेशीले नै बधाई छ भनेर भन्दा आफूले पनि ६ मन्थ, सेभेन मन्थ भनेर हिँडेको उनले स्मरण गरिन् । “मैले गर्भवती हुँदाको क्यारेक्टर गर्दा ऋचा दिदीसँग धेरै कुरा साधेको थिएँ,” उनले भनिन्, त्यसले गर्दा पनि सहज भयो ।”
निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’ व्यंग्यात्मक नाम भएको बताए । “सबै बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले विदेश बोलाउँदैनन्,” उनले भने ।
विदेशी भूमिमा कानुन नबुझ्दा अनेक समस्या भोगिरहेको भन्दै उनले त्यस्तै घटना चलचित्रमा समेटिएको उनले बताए । धेरै कथा वास्तविक घटनामा आधारित रहेको उनले बताए ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।
विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदैछ ।