मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ (तस्बिरहरू)
काठमाडौं । मण्डला थिएटरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन सुरु भएको छ । मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को शनिबारदेखि मञ्चन सुरु भएको हो ।
केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकलाई दयाहाङ राईले निर्माण गरेका हुन् । नाटकमा कलाकार मेनुका प्रधान र कार्मको अभिनय रहेको छ ।
नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहनाको उत्कट उत्साह सङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को आवाज हो ।
नाटकको मञ्चदेखि, ध्वनि परिकल्पना, प्रकाश परिकल्पनामा मिहिन रुपमा सिर्जना गरिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषण गरेको ७ नाटकमध्ये तेस्रो हो । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ ।
देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको भेषभुषा परिकल्पना रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयंको छ ।