‘के पप टुर इन नेपाल’ हुँदै, जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्तुति दिने
काठमाडौं । काठमाडौंको हायात होटलमा डिसेम्बर २० र २१ मा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेबाट राति १० बजेसम्म यो कार्यक्रमको आयोजना हुने आयोजकले बताएको छ ।
यो कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । नेपालसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना हुन लागेको हो ।
यो अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन् । अब, भने डिसेम्बर महिनामा ‘के पप टूर इन नेपाल’ आयोजना हुन लागेको हो ।
नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संकृती झल्कने प्रस्तुति कार्यक्रममा दिनेछन् । यसका लागि नेपाली, जापानीज र दक्षिण कोरियाका कलाकारहरु उत्साहित देखिएका छन् ।
कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुती दिने बताइएको छ ।
कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन् ।
कार्यक्रमलाई ग्रान्ड च्यारिट नेपालले आयोजना हुन लागेको हो । कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको आयोजकले बताएको छ ।
कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतिबाट नयाँ अनुभव गर्नसक्ने आयोजकको दाबी छ । आयोजकले यसका लागि टिकट बिक्री समेत खुला भएको बताएको छ ।