‘ह्रस्व दीर्घ’ नाम कसरी जुरेको थियो, कथालाई न्याय गर्छ ?

काठमाडौं । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ को नाम कस्तो हो, धेरैको मनमा जिज्ञासा हुनसक्छ । यसको नामलाई लिएर नायिका तथा निर्मात्री नीता ढुंगाना र निर्माता तथा अभिनेता हरिहर अधिकारीले स्पष्ट पारेका छन् ।
चलचित्र दर्ताको लागि उनीहरूसँग तीन दिनको समय थियो । तर नाम थिएन । नीता नाम के राख्ने भनेर तनावमा थिइन् । त्यही बेला हरिहरले भने, “म तीन दिनभित्र नाम दिन्छु, तानव किन लिएको ?”
नाम के राख्ने हरिहर पनि कन्फ्युजनमा थिए । चरित्रको नामबाट नाम राखौँ कथालाई न्याय गर्दैन । ठाउँको नामबाट नाम राखौँ, त्यसले पनि कथालाई न्याय गर्दैन । प्रेमभाव जनाउने नाम राखौँ भने त्यसले सिनेमाको थिम समेट्दैन ।
त्यसो हो भने के राख्ने त नाम, हरिहरलाई पनि कौतुहल र छटपटि भयो । उनको दिमागमा आयो, “ह्रस्व दीर्घ” । त्यसपछि त्यही नाम चलचित्र विकास बोर्डमा गएर दर्ता गरे ।
हरिहरले चलचित्रको नामलाई लिएर भने, “सिनेमा हेरेपछि यसको अर्थ प्रष्ट हुन्छ । किन यो नाम राखिएको रहेछ भनेर सबैले थाहा हुन्छ । किन यही नाम नै राखिएछ भनेर सबैले थाहा पाउनु हुनेछ ।”
पछिल्लो समय ‘ह्रस्व दीर्घ’ के हो भनेर नै धेरैले बिर्सिसकेको उनी बताउँछन् । पहिलो पढेको र जानेको कुरालाई पनि सिनेमाको नामले पुनरताजगी गर्ने हरिहर बताउँछन् ।
चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।
अभिनेता हरिहर अधिकारीको कथा छ । प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
नीता फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको नेपालसहित भारतमा अवस्थित संसारकै ठूलो स्टुडियो रामोजी फिल्म सिटीमा छायांकन गरिएको ‘ह्रस्व दीर्घ’को निर्माणमा ६ करोड खर्च भएको दाबी निर्माण टिमको छ ।
यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।