‘गाउँ आएको बाटो’काे बुकिङ ओपन, कति पायो शो ?
काठमाडौं । नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २५ गतेबाट रिलिज हुने चलचित्रको हलहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । केही हलले भने प्रि–बुकिङ खोल्न बाँकी छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई धेरै शो दिएको छैन । काठमाडौंमा १५ दिएको क्यूएफएक्सले उपत्यका बाहिर २३ शो प्रदान गरेको छ । यो सिनेमाले जम्मा ३८ शो पाएको छ ।
पूर्वी नेपालमा भने यो सिनेमाले उच्च संख्यामा शो पाएको छ । क्यूएफएक्सले विर्तामोडमा ५ र इटहरीमा ४ शो दिएको छ । राई समुदायको संस्कृतिमा बनेको सिनेमा भएकाले पूर्वी नेपालमा यसले उच्च शो पाउने निश्चित छ । जुन क्यूएफएक्सले दिएको शो संख्याले पनि पुष्टि गर्छ ।
देशकै दोस्रो ठूलो चेन आईएनआईले ९ शो उपलब्ध गराएको छ । वान सिनेमा, एफक्यूब, विग मुभिजले बुकिङ खुलाएको छैन ।
‘फर्की फर्की’ र ‘पुजार सार्की’ हलमा रहेका र दर्शकको चाप भएकाले ‘गाउँ आएको बाटो’ले अपेक्षा गरेजस्तो धेरै शो नपाएको हो । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् ।
टोरोन्टो र बुसानलगायत दुई दर्जन फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।
यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।