‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट २० वटा हलबाट उतारिँदै, किन ? (हलको सूचीसहित)
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट देशभरका १९ वटा हलबाट उतारिने भएको छ । मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।
ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै निर्माणपक्षले १९ वटा हलमा भोलिबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नगर्ने जनाएको छ । हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनी सेभेन सिस सिनेमाले जनाएको छ ।
अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, द्वारिका हल, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा भोलि (शनिबार)देखि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नहुने निर्माणपक्षले जनाएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले ओभरसिज मार्केटमा बनाएका यी रेकर्ड
सिनेमा हेर्न इच्छुक दर्शकले नजिकैको अर्को हलमा गएर हेरिदिन निर्माणपक्षले विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।