‘बोक्सी बन्दा भावुक भएँ’
काठमाडौं । नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन नयाँ नाम होइन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च हुई’ र ‘पुजार सार्की’मा अभिनय गरिसकेकी छन् । यिनै प्रमिला यही मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा देखिँदैछिन् । यिनै प्रमिलासँग ‘अग्निदहन’को विषयमा सम्बन्धित रहेर गरिएको कुराकानीः–
तपाईंले बोक्सीको आरोप लागेकी माइली दमिनीको भूमिका निर्वाह गर्नुभएको छ । यो भूमिका तपाईंका लागि कत्तिको चुनौतीपूर्ण रह्यो ?
बोक्सीको आरोप लागेको माइली दमिनीको भूमिका निभाउन मलाई निकै चुनौतीको विषय रह्यो । किनकी यो फिल्म सत्यघटनामा आधारित रहेको हुनाले मैले यसमा माइली दमिनीको पात्रमा यथार्थ अभिनय गर्नुपर्ने थियाे । ‘अग्निदहन’ मेरो अरुभन्दा निकै फरक भूमिका रहेको फिल्म हो ।
यो चरित्रका लागि पात्र अध्ययन गर्नु पनि भयो कि ?
माइली दमिनीको चरित्रको लागि मैले निकै समय पात्र अध्ययन गर्नुपर्यो । । यो पात्र निकै चुनौती पूर्ण थियो । मैले यो चरित्रको लागि सुकुम्बासी बस्तीमा गएर धेरै अध्ययन गरेँ । हाम्रो समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवाहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरें ।
तपाईंको चरित्रका लागि परिवारसँग सरसल्लाह गर्नुभयो कि भएन ?
मैले चरित्रका लागि घर परिवारसँग सर–सल्लाह गरें । यसमा मेरो श्रीमानले निकै सपोर्ट गर्नुभयो ।
फस्टलुक र ट्रेलर आएपछि तपाईंको चरित्रप्रति कस्तो प्रतिक्रिया पाउनुभयो ?
फष्टलुक र ट्रेलर आएपछि सबैले राम्रै प्रतिक्रिया दिनुभयो । धेरै दर्शकले माइली दमिनीलाई सहानुभूति दिनुभयो । कति बच्चाहरु माइली दमिनीको दृश्य आउँदा डराए ।
महिलालाई बोक्सीको आरोप किन लगाउँदा रहेछन् ?
जो व्यक्ति अशक्त, दुःखी, गरिब, सहाराविहिन एकल महिला वा पुरुष, जसकाविरुद्ध बोलिदिने समाज हुँदैन, उनीहरुलाई नै बोक्सीको आरोप लगाईन्छ ।
माइली दमिनी चरित्रको ह्याङओभर कत्तिको रह्यो ?
पात्रमा माइली दमिनीलाई एउटा दृश्यमा मलमुत्र खुवाई कुटपिट गर्दा मलाई एकदम गाह्रो महसुस भयो । मैले पात्र निभाउँदै गर्दा यति गाह्रो भयो भने साँच्चै नै असहाय महिला दिदी, आमाहरुलाई कस्तो भयो होला भन्ने कुराले मलाई धेरै दिन माइली दमिनीको ह्याङ ओभर रहिरह्यो ।
चरित्र निभाइरहँदा आफू कत्तिको भावुक हुनुभयो ?
निकै भावुक बनेँ । सबैभन्दा भावुक माईली दमिनीको घर जलाउँदा र मलमुत्र खुवाउँदा भएँ ।
प्रमिलाका लागि अग्निदहन किन हेर्ने ?
फिल्म ‘अग्निदहन’ प्रमिलाको लागि हेर्नै पर्ने बनेको छ, किनभने यो फिल्म सत्यघटनामा आधारित छ । फिल्मले बोक्सी कुप्रथालाई हटाउन मद्दत पुर्याएको छ । यस फिल्ममा मैले अरु फिल्ममा भन्दा फरक चरित्र निभाएकी छु । त्यसैले पनि ‘अग्निदहन’ मेरा लागि हेर्नै पर्ने बनेको छ ।