karsang
Close Me

‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्दा उजागर भयो यस्तो तथ्य

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्दा नयाँ तथ्य उजागर भएको छ । ग्रसकलेक्सनको गलत रिपोर्ट दिएको भन्दै चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ उतार्ने निर्णय गरिएपछि केही हल गैरकानुनी रुपमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको हो ।

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनीले गलत व्यापारिक तथ्यांक दिएका हलको नाम सार्वजनिक गर्दै सेभने सिस सिनेमाले आजबाट १९ वटा हलमा सिनेमा प्रदर्शन नगर्ने निर्णय गरेको थियो ।

सेभेन सिसले गलत व्यापारिक तथ्यांक दिने १९ वटै हल बिनाइजाजत सञ्चालनमा रहेको चलचित्र विकास बोर्डले जनाएको छ । चलचित्र विकास बोर्डले सेभेन सिसले चलचित्र उतार्ने भन्दै उल्लेख गरेका हलको इजाजत यसअघि नै खारेज भइसकेको विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको छ ।

इजाजत खारेज गरिए पनि कानुन विपरीत लुकिछिपि सिनेमा प्रदर्शन गरिरहेको जानकारीमा आएको भन्दै बोर्डले त्यस्ता हललाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

सिनेमा घर सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघ भने हलहरुको बचाउमा उत्रिएको छ । संघले चलचित्रको व्यापारिक तथ्यांक माग्ने, चलचित्र चलाउने वा उतार्ने अधिकार निर्मातासँग नहुने भन्दै यो अधिकार वितरकमा सुरक्षित रहेको जनाएको छ ।

संघले सेभेन सिसलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिनाप्रमाण गलत व्यापारिक तथ्यांक दिएको भन्ने आरोप लगाएको भन्दै प्रमाण लिएर उपस्थित हुन ‘पूर्ण बहादुरको सारङ्गी’का निर्मातालाई निर्देशन दिएको छ । चलचित्र संघका सदस्यहरूको मानमर्दन गरेको आरोप लगाउँदै संघले प्रमाण नपुगे ‘पूर्ण बहादुरको सारङ्गी’का निर्मातालाई कारबाहीको चेतावनी समेत दिएको छ ।

बोर्डले खोरेज गरिसकेका हल बिना इजाजत गैरकानुनी रुपमा चलेको बताइरहँदा संघले भने ती हल कानुनसम्बत छन् वा छैनन् केही भनेको छैन । यसले निर्माताहरूले प्रदर्शकलाई पारदर्शी नभएको भनेर लगाएको ओरोपलाई पुष्टि गर्न बल पुगेको छ ।