karsang
Close Me

सुपरहिट सिनेमामा ह्याट्रिकपछि अब ‘डोरी’मा अञ्जना

काठमाडौं । लगातार तीनवटा सुपरहिट सिनेमा दिएकी अभिनेत्री अञ्जना बराइली नयाँ चलचित्रमा अनुबन्धीत भएकी छन् ।

पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ गर्दै लगातार सुपरहिट सिनेमा दिएकी अञ्जना हालै चलचित्र ‘डोरी’मा अनुबन्ध भएकी हुन् ।

अञ्जनाले ‘डोरी’मा प्रमुख अभिनेत्रीको भूमिकामा अभिनय गर्ने यस चलचित्र निर्देशक अरुण लामाले जानकारी गराएका छन् । यो चलचित्रमा अञ्जनासँगै कलाकार प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् ।

मङ्सिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायत अनुबन्धीत भइसकेका थिए ।

जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए ।

चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने उनकको भनाइ छ ।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

यस चलचित्रमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।