karsang
Close Me

प्रदीप सिंह रावत काठमाडौंमा, हल पुगेर ‘ह्रस्व दीर्घ’को प्रतिक्रिया बुझ्ने

काठमाडौं । ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आइपुगेका छन् । शुक्रबार राति उनी नेपाल आइपुगेका हुन् । श्रीमती कल्याणीसहित उनी नेपाल आइपुगेका हुन् ।

उनी आज काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझ्ने कार्यक्रम रहेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा राम्रो ब्यापार गरिरहेको छ । निर्माणपक्षका अनुसार दुई दिनमा २ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

सिनेमा ‘ह्रस्व दीर्घ’मा उनले अभिनेत्री नीता ढुंगानाको पिताको रुपमा अभिनय गरेका छन् । उनी यसअघि यो सिनेमाको छायांकनका लागि नेपालमा आएका थिए ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।