बक्सअफिसमा: ‘कंगुवा’ फेल
काठमाडौं । मूल रूपमा तमिल भाषामा बनेको ‘कंगुवा’ले यसका मुख्य कलाकार सुर्याका साथै निर्मातालाई ठूलो झट्का दिएको छ । ठूलो बजेटको यो फिल्मले दर्शकको साथ पाउन सकेन ।
विगत केही महिनादेखि ‘कंगुवा’को चर्चा चलिरहेको थियो । तर, रिलिजपछि फिल्मले दर्शकको मनमा स्थान बनाउन सकेन । यही कारणले गर्दा अहिलेसम्म फिल्मको कलेक्शन निकै निराशाजनक रहेको छ । यस वर्ष रिलिज भएका फिल्म ‘इन्डियन २’ र ‘वेट्टैयन’ भन्दा यो फिल्मले सुस्त सुरुवात गरेको छ । ‘इन्डियन २’ ले पहिलो दिन २५.६ करोडको व्यापार गरेको थियो । त्यस्तै, ‘वेट्टैयन’ले पहिलो दिन ३१.७ करोड रुपैयाँ कलेक्सन गरेको थियो ।
सुर्याको फिल्म ‘कंगुवा’ दोस्रो दिन पनि बक्स अफिसमा असफल भयो । शुक्रबार फिल्मको कलेक्सनमा ६० प्रतिशतभन्दा बढी कमी आएको छ । दोस्रो दिन फिल्मले ९ करोड २५ लाख कमाएको थियो ।
उसो त भारतमा शनिबार र आइतवार कुनै पनि चलचित्रका लागि धेरै महत्त्वपूर्ण हुन्छ । तेस्रो दिन ‘कंगुवा’को कमाईमा खासै सुधार आएको छैन । फिल्मले शनिबार मात्रै १०.४६ करोड कमाएको थियो । फिल्मले चौथो दिन १०.२५ करोड कमाएको छ ।
सोमबारको परीक्षामा ‘कंगुवा’ नराम्ररी फेल भएको छ । प्रारम्भिक तथ्यांक अनुसार फिल्मले पहिलो सोमबार २ करोड ४८ लाख र विश्वभरबाट ७८ करोड मात्र कमाएको छ । योसँगै फिल्मको कुल कमाई ५६.०८ करोड पुगेको छ । सूर्यजस्ता सुपरस्टार र फिल्मको बजेट ३००–३५० करोडको हिसाबले यो कमाइको आँकडा सन्तोषजनक मान्न सकिँदैन ।
यता, पछिल्लो समय भारतीय फिल्महरू नेपालमा चल्न नसकिरहेको बेलामा नेपाली वितरकले यो फिल्म नेपालमा प्रदर्शन नगराएर ठुलो घाटा हुनबाट जोगिएका छन् ।