सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’ले अमेरिकामा पनि कीर्तिमान बनाउँदै
काठमाडौं । नेपालमा नयाँनयाँ रेकर्ड बनाइरहेको चलचित्र ‘पूर्ण बहादुर सारङ्गी’ले अमेरिकामा पनि रकेर्ड बनाएको छ । अमेरिकालगायत धेरै देशमा प्रदर्शन भइरहेको चलचित्रले आकर्षक व्यापार गरिरहेको छ ।
वितरण कम्पनीका अनुसार अमेरिकामा १० दिनमा पाँच लाख डलर (करिब ६ करोड ७५ लाख रुपैयाँ) ग्रसकलेक्सन गरेको छ । अमेरिकामा यो अहिलेसम्मकै रेकर्ड हो ।
नोभेम्बर ८ मा रिलिज भएको चलचित्र अहिले अमेरिकाभरका ६६ हलमा २०० हाराहारीमा शो पाएको छ ।
‘पूर्णबहादुर सारङ्गी’का निर्माता प्याट्रिक सुवेदीका अनुसार एक दिनमा १०० भन्दा धेरै शो सोल्डआउटको रेकर्ड यो सिनेमाले बनाएको छ ।
निर्माता सुवेदीका अनुसार चलचित्रले हालसम्म ओभरसिज मार्केटमा १५ करोड हाराहारीमा कमाइ गरेको छ । यद्यपि, कलेक्सनको आधिकारिक विवरण आउन बाँकी छ ।
अमेरिकाबाहेका देशमा पनि यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।
‘पूर्णबहादुर सारङ्गी’ले नेपालमा १८ दिनसम्म ३६ करोड ३५ लाखभन्दा माथि ग्रसकलेक्सन गरिसककेको छ ।
‘पूर्णबहादुर सारङ्गी’को कथा, निर्देशन र कलाकारहरूको अभिनयले चलचित्रलाई सर्वकालीन ब्लकबस्टर बनाउन ठूलो भूमिका खेलेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।