‘ह्रस्व दीर्घ’को व्यापार उत्साहप्रद, चार दिनमा ३ करोड ६५ लाख ग्रस
काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ले पहिलाे दिनदेखि नै उत्साहप्रद व्यापार गरिरहेको छ । सीमित शो र चुनौतिहरूका बाबजुद दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च अकुपेन्सीका कारण यसको ग्रसकलेक्सन लगातार बढिरहेको छ ।
‘ह्रस्व दीर्घ’ले बक्सअफिसमा उत्कृष्ट सुरुवात गर्दै चार दिनमा ३ करोड ६५ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार ८० लाख ग्रसकलेक्सन गरेको चलचित्रले शनिबार १ करोड २० लाख ग्रस गरेकाे थियो । दुई दिनमै २ करोडको व्यापार पार गरेको यो चलचित्रले आइतबार ७५ लाख र सोमबार ९० लाख ग्रसकलेक्सन गरेकाे थियाे ।
कमाई विवरण:
शुक्रबार (पहिलो दिन): ८० लाख
शनिबार (दोस्रो दिन): १ करोड २० लाख
दुई दिनको कुल कमाई: २ करोड
आइतबार (तेस्रो दिन): ७५ लाख
सोमबार (चौथो दिन): ९० लाख
चार दिनकाे कुल कमाई: ३ करोड ६५ लाख
सोमबार सार्वजनिक बिदाका कारण दर्शकको घुइँचोले व्यापारलाई थप बलियो बनायो । वितरक मनोज राठीका अनुसार चार दिनको कूल ग्रसकलेक्सन ३ करोड ६५ लाख पुगेको छ ।
मंगलबार पनि चलचित्रकाे अकुपेन्सी सन्तोषजनक रहेको छ । बिहान र मध्यान्हका शोमा करिब ५०% अकुपेन्सी देखिएको छ । रात्रीकालीन शोमा दर्शकको उपस्थिति केही सुधारिएको छ । तर, ‘पूर्ण बहादुरको सारङ्गी’ले ठूलो प्रतिस्पर्धा गरिरहेको हुँदा ‘ह्रस्व दीर्घ’लाई थप शो प्राप्त गर्न गाह्रो परेको छ ।
शुरुआती व्यापारमा सफलता हासिल गरेको चलचित्रले लगानी सुरक्षित गर्नको लागि अझै केही समय संघर्ष गर्नुपर्नेछ । यो सिनेमाले पहिलो साता बक्सअफिसमा स्थिरता कायम गर्न सके यो वर्षको सफल नेपाली चलचित्रहरूमध्ये पर्नसक्ने सम्भावना छ ।
चलचित्रको प्रचारलाई थप बल दिन भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन) नेपाल आएका छन् । उनले काठमाडौंका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरिरहेका छन् । उनले प्रचारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
रावत बुधबार नेपालगञ्ज जाने कार्यक्रम छ । उनी उतैबाट स्वदेश फर्किनेछन् ।
चन्द्र पन्तको निर्देशनमा बनेको ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारहरूको प्रभावशाली उपस्थिति रहेको छ। भारतीय अभिनेता प्रदीप रावतसहित ब्रह्मानन्दम, सुनिल बर्मा, अली, र कबीर दुहन सिंहले फिल्ममा अभिनय गरेका छन् । नेपाली कलाकारतर्फ नीता ढुंगाना, विपना थापा, हरिहर अधिकारी, रेखा थापा र सञ्चिता लुइँटेलको अभिनय रहेको छ ।
‘ह्रस्व दीर्घ’को छायांकन बलिउडका अनुभवी छायाँकार कवीरलालले गरेका हुन् ।