एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद: २९ वर्षको वैवाहिक जीवन अन्त्य
काठमाडौं । प्रसिद्ध भारतीय संगीतकार तथा ओस्कार विजेता एआर रहमान र उनकी श्रीमती सायरा बानोले २९ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेका छन् । यो खबरले संगीतप्रेमीहरू र उनका प्रशंसकहरूलाई ठूलो झट्का दिएको छ ।
एआर रहमान र सायरा बानोले सन् १९९५ मा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान खतिजा, रहिमा र आमिन छन्। दम्पतीले आफ्नो सम्बन्धविच्छेदको निर्णयलाई भावनात्मक तनावको परिणाम भएको बताएका छन् ।
सायरा बानाका वकिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “श्रीमती सायराले सम्बन्धविच्छेदको कठिन निर्णय लिएकी छिन् । दम्पतीको गहिरो प्रेमका बाबजुद उनीहरूको सम्बन्धमा देखिएको तनाव र समस्याले दुरी बढाएको छ । यो निर्णय दुवै पक्षका लागि निकै पीडादायक छ ।”
सम्बन्धविच्छेदको खबर सार्वजनिक भएपछि एआर रहमानले सामाजिक सञ्जालमार्फत आफ्नो भावनात्मक स्थिति व्यक्त गरेका छन् । उनले लेखेका छन्, “हामीले विवाहको ३० वर्ष पूरा गर्छौं भन्ने आशा गरेका थियौं, तर परिस्थिति त्यस्तो भएन । हाम्रो हृदय यति टुटेको छ कि यसको असर स्वर्गीय सिंहासनमा पनि पर्न सक्छ । टुटेका चीजहरूमा केही अर्थ खोज्न हामी प्रयास गर्दैछौं ।”
यो जोडीले यो कठिन समयमा जनतासँग गोपनीयताको सम्मान र समझदारीको अनुरोध गरेका छन् ।
एआर रहमान जो आफ्नो कालजयी संगीतका लागि प्रख्यात छन् । सायरा बानोले यो व्यक्तिगत निर्णयले आफ्नो परिवार र प्रशंसकहरूमाझ गहिरो प्रभाव पारेको देखिन्छ । दुवैले भविष्यमा एक-अर्काको सम्मान कायम राख्दै अगाडि बढ्ने अपेक्षा गरेका छन् ।