फिल्म प्रदर्शन हुन लाग्दा गरिमालाई ‘उत्साह र डर’

म्युजिक भिडिओमा चम्किरहेकी मोडल गरिमा शर्मा अभिनेत्रीका रूपमा फिल्ममा आउँदै छिन् । उनको डेब्यु फिल्म ‘लण्डन टु पेरिस’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदै छ । फिल्मलाई लिएर उनी यतिबेला उत्साहितसँगै केही नर्भस समेत छिन् । उनीसँग डेब्यु फिल्म, यसमा उनको भूमिका, भिडिओ र फिल्ममा काम गर्दाको फरक, आगामी यात्रा लगायतका विषयमा रहेर छोटो कुराकानी गरिएको छ ।

पहिलो पटक ठूलो पर्दामा देखिँदै गर्दा मनमा के कस्ता कुराहरू खेलिरहेका छन् ?
एकदमै उत्साहित छु । फिल्मले कस्तो गर्ला भन्ने मनमा खेलिरहेको छ । यो फिल्मले मेरो आगामी करिअरका लागि कस्तो भूमिका खेल्ला भनेर डर पनि लागिरहेको छ । लभस्टोरी जनरामा फाइदा पनि बढी हुने र रिस्क पनि हुने जस्तो लाग्छ। सोही कारण मनमा खुशीसँगै डर दुवै छ ।

दर्जनौं भिडिओमा अभिनय गर्नुभएको छ। भिडिओ र फिल्ममा काम गर्दाको समानता र फरक के रहेछ ?

दुवै आर्टिस्टिक भएपनि भिडियो र फिल्म भिन्न हुन् । तर म्युजिक भिडियोमा अरूले गाएको गीतमा अभिनय गर्नुपर्यो। भिडिओको काम छोटो समयमा सकिन्छ । तर फिल्ममा प्यासन धेरै चाहिन्छ । धेरै समय दिनुपर्छ । साथै धेरै मेहनत पनि चाहिन्छ । एउटा भिडिओ एक दिनमा गर्नु र एउटै फिल्मको लागि एक वर्षसम्म पर्खेर बस्नुमा चाहिँ एकदम प्यासन चाहिन्छ । पर्खेर बस्ने धैर्यता चाहिन्छ । क्यामेरा एंगलहरूको हिसाबले, प्राविधिक पाटोका हिसाबले समानता पाइन्छ। अहिले म्युजिक भिडिओमा पनि राम्रो क्यामेराहरू प्रयोग गरिन्छ । फरक चाहिँ भिडिओको तुलनामा फिल्ममा काम गर्नु अलि गाह्रो र धेरै डेडिकेशन चाहिन्छ भन्ने लाग्छ।

लण्डन टु पेरिस कस्तो फिल्म हो ?

यो नितान्त लभस्टोरी फिल्म हो । टिनएजर्सको प्रेम विछोडको कथालाई यसले देखाउन खोजेको छ । सम्बन्धमा आउने उतारचढाव अनि राम्रो पक्षसँगै त्यसले निम्त्याउने मानसिक बिचलनका कुराहरू फिल्ममा देखाइएको छ।

यसमा तपाईको भूमिका कस्तो छ ?

हामी चार जना मुख्य पात्रहरू छौं, चार जना पात्रमै फिल्म घुमेको छ। हामीमध्ये अपिल (निश्चल खड्का) को जिन्दगीमा हाम्रो विशेष भूमिका हो । फिल्ममा हामी तीन जनाले कथामा ‘टुइष्ट एण्ड टर्न’ ल्याउँछौं । अहिले धेरै नखुलाइ भन्नुपर्दा मेरो पनि त्यही मध्येको एक टुइष्ट ल्याउने पात्र हो ।

यो फिल्म चल्नु र नचल्नुले तपाईको करिअरमा कस्तो भूमिका खेल्छ ? फिल्मलाई लिएर तपाईले राख्नुभएका मुख्य अपेक्षाहरू के–के छन् ?

आफ्नो करियरको पहिलो फिल्म चलोस् भन्ने सबैलाई पक्कै पनि हुन्छ । चल्नु पनि पर्छ । किनभने मेकिङसँगै हाम्रो फिल्ममा जुन कन्टेन्ट छ त्यो राम्रो छ भन्ने लाग्छ । अब त्यसलाई दर्शकहरूले हेरिदिन हलसम्म आउनुहुन्छ कि हुँदैन भन्ने कुरा मात्रै हो । फिल्म चल्यो भने पक्कै पनि मेरा लागि यसपछि आउने फिल्ममा मैले गरिरहेका कामहरू पनि जोडिँदै जान्छन् । थपिँदै जान्छन् । यदि फिल्म चलेन् भने चाहिँ यसलाई म सिकाइका रूपमा लिन्छु । मैले यो फिल्ममा गरेका कमी कमजोरीलाई अब गर्ने आगामी फिल्महरूमा सुधार्छु । मेरो अपेक्षा चाहिँ फिल्म चल्नु पर्ने हो भन्ने लाग्छ ।

हलको पर्दामा आफूलाई हेर्न कत्तिको उत्साहित हुनुहुन्छ ?

एकदमै उत्साहित छु । अब हलमा आफूलाई म्युजिक भिडिओ लन्चहरूमा देखिराखेको हो । यो ठूलो पर्दामा फिल्ममै म कहिले आउने होला भनेर कल्पना गर्थे । त्यो दिन आइसकेको छ । आफूलाई हलको पर्दामा फिल्मबाट देखिने एकदमै उत्साहित, खुसी छु ।

अन्य दुई फिल्ममा पनि अभिनय गरिसक्नुभएको छ । तर अहिलेसम्म सहायक भूमिकामा मात्रै काम गर्नुभएको छ । किन ?

हो । अन्य दुई फिल्ममा पनि अभिनय गर्ने मौका पाएकी छु । सहायक भूमिकामा भए पनि अहिलेका फिल्महरू चाहिँ मैले आफूले मुल्यांकन गर्दा कस्तो बनेको छ, पात्रहरूमा अडिएको कथा हुन्छ । सबैले म हिरोइन बन्छु भनेर मात्र पनि त भएन् । यो त मेरो लागि अझ ग्रो हुने समय हो । मैले अग्रज कलाकारहरूसँग काम गरे र उहाँहरूबाट केही सिक्ने अवसर प्राप्त गरे भने आफ्नो काममा सुधार्न सक्छु । मलाई थाहा छ, म परिपक्व हुँदै गएपछि मैले सहायक भूमिकामा काम गरेता पनि भोलि गएर मुख्य भूमिकामा एउटा फिल्मलाई आफनो कामले अगाडि बढाउन सक्ने क्षमता राख्ने छु भन्ने विश्वास लिएकी छु । त्यही भएर यो चाहिँ मेरो ग्रो फेज हो । मैले त्यसरी अभिनय कक्षा लिएको छैन । राम्रो–राम्रो मेकरहरूबाट सिक्न पाउँदा र उहाँहरूसँग सहायक भन्दा पनि एउटा पात्रको रूपमा, कलाकारको रुपमा कुनै पनि फिल्ममा चाहिने मेजर पात्र नै गरेको छु । त्यो पात्रको रूपमा काम गर्दा आफूलाई ग्रो गर्दै अगाडि बढाउन सक्छु भनेर हो । मलाई एकैचोटी चुचुरोमा पुग्नु छैन, त्यो चुचुरोमा पुग्नका लागि सिढी चढ्नु छ । एक लेभल, दुई लेभल हुँदै जानु छ ।

फिल्मतिर आउनुभएपछि म्युजिक भिडिओको काम विस्तारै छाड्नु्हुने हो कि भन्ने कतिपयको चासो छ ? त्यसबारे के छ योजना ?

होइन् । अहिले फिल्मले गर्दा प्रचार प्रसारमा यताउता दौडनुपर्ने भएकाले हो । मुख्य कुरा त समय नै हो । त्यसरी एउटा काम गरेपछि अर्को काम गर्दिनँ भन्ने होइन् । सकभर आफ्नो समयलाई म्यानेज गरेर म्युजिक भिडिओ, फिल्म साथै मेरो कन्टेन्ट फेशनको कामलाई पनि मिलाउँछु ।

आगामी दिनमा फिल्मी करिअरलाई कसरी अगाडि बढाउने सोच्नुभएको छ ?

मेरो लाइफको एउटा गोल भनेको चाहिँ सुखमा नमात्तिनु र दुखमा नआत्तिनु हो । त्यही भयर मैले जति पनि काम गर्दा सुख पाएता पनि त्यसलाई ब्यालेन्स गरेर अगाडी बढ्छु । दुख पाए पनि त्यसबाट आफूले केही न केही सिकेर अगाडी बढ्छु भन्ने छ । अब फिल्म, अभिनयमै करिअर देखेको छु । त्यो बाहेक अरू कतै आफूलाई कल्पना पनि गर्न सक्दिन् । मेरो इच्छा भएको क्षेत्र नै यही भएका कारणले गर्दा अब एकदम सन्तुलन मार्गमा र अलिकति बाठो भएर काम छान्दा सही निर्णय लिन सक्नेगरी अगाडी बढ्ने सोच छ ।

कस्तो फिल्ममा काम गर्ने रूचि बढी छ ?

एउटा कलाकार भइसकेपछि ठ्याक्कै यस्तो फिल्ममा काम गर्ने, यस्तोमा नगर्ने भन्न त मिलेन् । सकभर सबै खालका फिल्महरू आफूले गर्न सकूँ भन्ने लाग्छ । तर पनि अहिले तत्कालै नेपालमा चाहिँ रियल लाइफ स्टोरीहरु खासै नबनिएको हुदाँ एउटा रियल लाइफबाटै इन्स्पायर भएको कुनै त्यस्तो कथामा काम गर्न पाए हुन्थ्यो भन्ने पनि छ ।