‘बलिदान’को छायांकन रोकियो, प्राविधिकहरूको पारिश्रमिक विवाद समाधान नहुँदा समस्या गहिरियो
काठमाडौं । सन्तोष सेनको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘बलिदान’को झन्डै दुई महिनाअगाडि पहिलो सेड्युलको काम सकिए पनि दोस्रो चरणको छायांकन सुचारु हुन सकेको छैन ।
निर्माणका क्रममा देखिएका आर्थिक र प्राविधिक समस्याका कारण छायांकन रोकिएको चलचित्रको दोस्रो सेड्युलको काम प्राविधिकहरूले अहिलेसम्म आफ्नो पारिश्रमिक नपाएका कारण रोकिएको बताइएको छ ।
बुधबार निर्माण टिमले सुटिङ सामग्री पूर्वतिर लैजान खोज्दा प्राविधिक संघले ती सामान रोकिदिएको छ । यसअघि प्राविधिक संघले निर्माण पक्षसँग छलफल गरी निर्माता तथा निर्देशक सेनले पारिश्रमिकका लागि चेक दिएको भए पनि प्राविधिकहरूले चेक साटिनेमा विश्वास व्यक्त गरेका छैनन् ।
२० लाख हाराहारी पारिश्रमिक बाँकी
चलचित्रको पहिलो सेड्युलमै मेकअपम्यानदेखि किचन स्टाफसम्मको पारिश्रमिक नबाँडिएको खुलेको छ । टेक्निसियन र उपकरण लगायत गरी २० लाख रुपैयाँ हाराहारीको रकम दिन बाँकी रहेको जनाइएको छ।
निर्माता सेनले ‘बलिदान’लाई स्तरीय बनाउन भन्दै दक्षिण भारतीय प्राविधिक टोलीलाई ल्याएका थिए । तर, करिब २० दिनको सुटिङ सेड्युलकै क्रममा विवाद उत्पन्न भएपछि भारतीय टोली क्यामेरा र अन्य उपकरण छाडेर फर्किएको थियो । त्यसपछि विभिन्न क्यामेराम्यान परिवर्तन गर्दै छायाकंन अघि बढाइएको थियो ।
आर्टखबरले निर्माता सन्तोष सेनसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
छायांकनमा पटक–पटक अवरोध
चलचित्रको छायांकन सुरु भएसँगै विभिन्न समस्या देखिएका छन् । सुरुवातमा छायांकन गरेका पुरुषोत्तम प्रधानले अन्य काममा लागेपछि, सञ्जय लामाले छायाँकारको जिम्मेवारी लिएका थिए । तर, सेटमा फेरि विवाद भएपछि सुटिङ ठप्प भएको थियो । अहिले लामाले पनि छाडेपछि उनको ठाउँमा महेश पौडेलले छायाकंन गर्ने तयारी गरेका छन् ।
सुनसरीको इटहरी र मोरङको कानेपोखरीमा भव्य सेट निर्माण गरिएको छ। भदौमा हरितालिका तीजको अवसर पारेर निर्माण सुरु गरिएको यो चलचित्रको छायाङ्कन आधा मात्रै पूरा भएको छ ।
आसुसेन फिल्मस् प्रा.ली. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र दिव्य देवललगायत कलाकार अनुबन्धित छन् । तर, प्राविधिकहरूको विरोधका कारण छायाकंन कहिले सुरु हुने निश्चित छैन ।
निर्देशनक सेनले ‘बलिदान’लाई कथामा सुधार गर्दै यो चलचित्रलाई उत्कृष्ट बनाउन चाहेको बताए पनि प्राविधिक र आर्थिक विवादले चलचिको भविष्य अन्योलपूर्ण देखिएको छ । चलचित्रको निर्माण रोकिएसँगै प्रदर्शन मिति र सफलता दुवै अन्योलमा परेको छ ।