karsang
Close Me

पारिश्रमिक विवादका कारण ढिलाइ भएको ‘बलिदान’को छायांकन पुनः सुरु

काठमाडौं । मोरङको कानेपोखरीमा शुक्रबारदेखि चलचित्र ‘बलिदान’ को अन्तिम चरणको छायांकन सुरु भएको छ । दुई महिनाअघि पहिलो सेड्युल पूरा गरेपछि विभिन्न आर्थिक र प्राविधिक समस्याका कारण रोकिएको छायांकन पुनः सुरु भएको हो ।

सन्तोष सेनको निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायांकन भदौमा हरितालिका तीजको अवसरमा प्रारम्भ भएको थियो । पहिलो सेड्युल सम्पन्न भए पनि दोस्रो सेड्युलका लागि प्राविधिक विवादले गर्दा छायांकन अघि बढ्न सकेको थिएन ।

निर्माण पक्षले चाडपर्वका कारण छायांकन रोकिएको बताउँदै आए पनि प्राविधिकहरूले आफ्नो पारिश्रमिक नपाएको विषयले विवाद चुलिएको थियो । प्राविधिक संघले निर्माण टिमलाई सामग्री लैजान अवरोध गरेपछि चलचित्रको छायांकन थप प्रभावित भयो ।

चलचित्रको पहिलो सेड्युलमै प्राविधिक, मेकअप कलाकार, र किचन स्टाफलगायतको करिब २० लाख रुपैयाँ पारिश्रमिक बाँकी रहेको प्राविधिक संघले जनाएको छ । पछिल्लो समय निर्माण पक्षले संघको नाममा चेक जारी गरेपछि विवाद साम्य पार्ने प्रयास गरिएको छ । तर, केही प्राविधिकहरूले असन्तुष्टि जनाउँदै काम छोडेका छन् ।

निर्माता सेनले ‘बलिदान’लाई स्तरीय बनाउन भन्दै दक्षिण भारतीय प्राविधिक टोलीलाई ल्याएका थिए । तर, करिब २० दिनको सुटिङ सेड्युलकै क्रममा विवाद उत्पन्न भएपछि भारतीय टोली क्यामेरा र अन्य उपकरण छाडेर फर्किएको थियो । त्यसपछि क्यामेराम्यान परिवर्तन गर्दै छायाकंन अघि बढाइएको थियो ।

सुरुवाती छायांकन पुरुषोत्तम प्रधान गर्ने कुरा आएको थियो, उनी अन्य चलचित्रको काममा लागेपछि भारतीय छायाँकारलाई भित्र्याइएको थियो । तर, छायांकनकै क्रममा विवाद उत्पन्न भएपछि सञ्जय लामा भित्र्याइएको थियो, अहिले उनले पनि अर्को चलचित्रमा काम गर्ने भएपछि महेश पौडेलले छायाँकारको जिम्मेवारी लिएका छन् ।

एक सदस्यले आर्ट खबरसँग भने- ‘चलचित्रको पहिलो सेड्युलमै मेकअपम्यानदेखि किचन स्टाफसम्मको पारिश्रमिक बाँडिएको थिएन, जसमा टेक्निसियन र उपकरण लगायत गरी करिब २० लाख रुपैयाँ हाराहारीको रकम दिन बाँकी थियो । सुरुवात देखिनै केही चरण छायाकंन समेत रोकिँदै आएको पनि थियो, प्राविधिक संघमा उजुरी परेपछि निर्माण पक्षले केही साथीहरूलाई ह्याण्ड क्यास र केहीलाई चेक दिएको छ ।’

ती सदस्यले अघि भने,’यसमा संघकै नाममा चेक काटिएको छ, अब उक्त चेक साटिएपछि प्रायले पौसा पाउनु हुने छ । तर, घेरै साथीहरुले ‘बलिदान’ नगर्ने भनेर छाडीसकेका छन्, अहिले अन्य प्राविधिक टिम लिएर उहाँहरु जानुभएको छ ।’

‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् । ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र दिव्य देवललगायत कलाकार छन् ।

चलचित्रको रिलिज मितिबारे निर्देशक सेनले छायाकंन पूरा भएको भोलीपल्ट टिजरसहित घोषणा गर्ने जानकारी गराएका छन् ।