नीता–हरिहरको ‘ह्रस्व दीर्घ’ ले ९ दिनमा कमायो ६ करोड ६९ लाख
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीको चलचित्र ‘ह्रस्व दीर्घ’ ले ९ दिनमा ६ करोड ६९ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ ।
वितरकका अनुसार चलचित्रले शनिबारसम्म उक्त कमाइ गरेको हो। चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारहरूको अभिनय छ । चलचित्र पहिलो दिनदेखि नै प्राप्त शोमा राम्रो अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ ।
निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले चलचित्रले लगानी सुरक्षित गरिसकेको दाबी गरेकी छन् । भारतमा ओटिटी प्लेटफर्ममा चलचित्र बेचिसकेको र, केही समय पछाडि भारतमा थ्रिएटर रिलिज पनि गर्ने नीताको भनाइ छ ।
चलचित्रमा नीता र हरिहरसहित ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतको अभिनय छ ।
चलचित्र दोस्रो सातामा प्रदर्शनरत छ ।





