‘राष्ट्रिय चलचित्र अवार्ड’लाई लिएर दीपेन्द्र लामा र दीपकराज गिरीबीच जुवारी
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण विवादको चुरो बन्ने गरेको छ । निर्देशक दीपेन्द्र लामा र निर्माता/अभिनेता दीपकराज गिरीले यस विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै ‘जारी’ चलचित्रलाई अवार्डबाट बञ्चित गरिनु अन्यायपूर्ण भएको भन्दै तर्क-वितर्क गरेका छन् ।
बुधबार शीतल निवासमा आयोजित समारोहमा चलचित्र विकास बोर्डले २०८० सालमा रिलिज भएको चलचित्र ‘जारी’लाई गतवर्ष सर्वाधिक कमाउने फिल्मको रुपमा पुरस्कृत गरेको थियो ।
निर्देशक लामाले यसै विषयलाई लिएर राष्ट्रिय चलचित्र अवार्डमा चलचित्र ‘जारी’लाई अन्य विधामा अवार्ड दिन सकिन्थ्यो भनेर असन्तुष्टि व्यक्त गरेका छन् ।
यस्तो छ दिपेन्द्र लामाको असन्तुष्टि
निर्देशक लामाले फेसबुकमा आफ्नो गुनासो पोख्दै लेखे, “उत्कृष्ट चलचित्र, निर्देशन, पटकथा, अभिनेता, अभिनेत्री, छायांकन र सम्पादन कुनै पनि विधामा ‘जारी’लाई अवार्ड नदिइनु घोर अन्याय हो । नेसनल फिल्म अवार्डका निर्णायकहरूको फिल्म लिट्रेसी निकै नै कमजोर रहेछ।”
दीपकराज गिरीको प्रतिवाद
उनको यो स्टाटसको जवाफमा दीपकराज गिरीले लेखे, “पहिले मलाई पनि अवार्ड पाउनु पर्छ भन्ने लाग्थ्यो, तर अहिले जोसुकैले पाए पनि फरक पर्दैन। संसारका कुनै पनि अवार्ड विवादरहित हुँदैनन्। ‘जुरी’ले चलचित्रमा आवश्यक गुण अर्को चलचित्रमा देख्यो होला। दर्शकले ‘जारी’लाई मन पराएको त छँदैछ।”
लामाको जवाफ
गिरीको प्रतिवादपछि लामाले पुनः जवाफ दिँदै भने, “चलचित्रकर्मीले चलचित्रको पक्षमा बोल्नुपर्छ । ‘जारी’ले १८ करोड ग्रस कलेक्शन गरेकै आधारमा उत्कृष्ट भन्न खोजिएको होइन । तर, यो फिल्मले पत्रकार, स्तम्भकार र बौद्धिक वर्गबाट सकारात्मक समीक्षा पाएको थियो । यस्तो फिल्मलाई कुनै पनि विधामा अवार्ड नदिइनु अस्वभाविक हो ।”
२०८० सालमा रिलिज भएको ‘जारी’ले नेपाली बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको थियो । चलचित्र विकास बोर्डले यो फिल्मलाई गत वर्ष सर्वाधिक कमाउने फिल्मको रूपमा पनि सम्मानित गरेको थियो ।
राष्ट्रिय चलचित्र अवार्डलाई लिएर विवाद हुनु नयाँ होइन । तर, यस पटक दिपेन्द्र लामा र दीपकराज गिरीबीचको जुहारीले नेपाली चलचित्र क्षेत्रमा नयाँ बहसको सुरूवात गराएको छ । अवार्ड कार्यक्रमले प्रतिभा मूल्यांकनमा ध्यान दिनुपर्ने भन्दै दुवै पक्षका तर्कले सामाजिक सञ्जाल तताइरहेको छ ।
यो विवादले नेपाली फिल्म उद्योगलाई सकारात्मक छलफलको दिशामा डोर्याउन सक्छ कि व्यक्तिगत असहमतिको चक्रमा अल्झिन्छ, त्यो भने हेर्न बाँकी छ।