karsang
Close Me

कलाकारको भीड देखाएको ‘कल्ली’ पूर्वघोषित मितिमा आउला ?

काठमाडौं । चलचित्र ‘कल्ली’मा कलाकारहरूको भीड देखिएको छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हालसम्म नामा चलेका एक दर्जन भन्दा बढी कलाकार अनुबन्धित भइसकेका छन् ।

‘कल्ली’मा यसअघि अभिनेता सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र अभिनेत्री बेनिशा हमाल फाइनल भइसकेका छन् । यसैबीच, यो चलचित्रमा थप दुई जना कलाकारको प्रवेश भएको छ ।

एकपछि अर्को सशक्त कलाकारको प्रवेशसँगै दर्शकको चासो बढाउन सफल भएको ‘कल्ली’को निर्माण पक्षले अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतलाई पनि चलचित्रमा अनुबन्धित गराएको छ । यी दुवै कलाकारहरूसँग कागजी रूपमा सम्झौता समेत भइसकेको बताइएको छ ।

कलाकारहरूको बलियो ‘लाइनअप’ देखिएको यो चलचित्र मार्फत करिब एक दशकपछि अभिनेता उत्तम प्रधानले अभिनयमा पुनरागमन गर्दैछन् । उनी पनि प्रमुख भूमिकामा रहने बताइएको छ। यस्तै, ‘कल्ली’मा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने र रेअर राईले पनि अभिनय रहने छ ।

आगामी पुष १० गतेबाट छायांकन सुरु हुने चलचित्रको छायांकन निसाल पौडेलले गर्नेछन् । सिनेमामा एसडी योगीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

किरण नेपालीको लगानीमा बन्न लागेको चलचित्रलाई राष्ट्रिय अवार्ड जित्न सफल ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । यो सिनेमाको कथा पनि उनी स्वयमले लेखेका छन् भने पटकथा तथा संवाद महेश दवाडीले तयार गरेका हुन् ।

सुरुवातमा यो चलचित्रको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको थियो, तर स्क्रिप्ट लेखन र कलाकार छनोटमा ढिलाइ हुँदा अब पूर्वघोषित मितिमा ‘कल्ली’ प्रदर्शन नहुने देखिएको छ । यही विषयलाई लिएर आर्ट खबरले निर्माता किरण नेपालीसँग कुराकानी गर्दा छोटो जवाफ दिँदै भने, ‘सोच विचार गरौँला ।’