karsang
Close Me

‘मिसिङः केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा बनेको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ।

यसअघि कात्तिक ३० गतेलाई तय गरिएको यो चलचित्र अब माघ ११ गते (जनवरी २४) रिलिज हुने भएको छ । निर्माण पक्षले यसअघि प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले ऐतिहासिक सफलता पाइरहेको भन्दै ‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन मिति स्थगन गर्ने निर्णय गरेको थियो ।

चलचित्रमा सृष्टि श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । निर्देशक गौचनकै स्क्रिप्ट रहेको सिनेमाको छायांकन अमर महर्जनले गरेका हुन्। गौचन स्वयं यसका निर्माता पनि हुन् ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

यो चलचित्रलाई नेपाली समाजका यथार्थ घटनाहरूमा आधारित रहँदै तयार गरिएको बताइएको छ । ‘मिसिङ: केटी हराएको सूचना’ ले सामाजिक सन्देशसहितको कथालाई रोचक ढंगबाट प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।