यस कारण थप्पड हानिन् महिला सिपाही कौरले कंगना रनौतलाई

बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् ।

यो घटना बिहीबार दिउँसो भएको हो । भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद रहेकी अभिनेत्री रनौतमाथि एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कँदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् ।

चुनाव जितेपछि कंगना रनौत बीजेपीको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा यो घटना भएको बताइएको छ । थप्पड हानेकी महिला जवानलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छिन् । उनले गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन् ।

कंगनालाई थप्पड हान्ने महिला सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ । चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण थप्पड हानेको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ ।

महिला सुरक्षाकर्मीले कंगनालाई सोधिन्- ‘तपाईंले बिजेपीबाट जित्नुभएको छ । तपाईंको पार्टीले किन किसानका लागि केही गर्दैन ?’

कंगनाले हालैका दिनमा किसान आन्दोलनबारे दिएका अभिव्यक्तिलाई लिएर ती महिला सुरक्षाकर्मी आक्रोशित भएको जनाइएको छ । यो घटनाबारे कंगनाले भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहेको बताएकी छन् ।

कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छिन्।