karsang
Close Me

चलचित्र विकास बोर्ड कारबाहीमा उत्रियो, गैरकानूनी हलविरुद्ध ताला झुन्डाउँदै

काठमाडौं । चलचित्र विकास बोर्डले लामो समयदेखि इजाजतपत्र नवीकरण नगरी, चलचित्र विकास शुल्क नतिरी र प्रदर्शन अनुमति नलिई सञ्चालनमा रहेका हलहरू कानूनी दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको छ ।

चलचित्र विकास शुल्क नतिर्ने र गैरकानूनी रूपमा सञ्चालन गरिएका हलहरूविरुद्ध देशव्यापी कार्वाही अभियान सुरु गरेको हो । यसै क्रममा सिराहाको बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनको सहयोगमा तालाबन्दी गरिएको छ । चलचित्र विकास बोर्डको समन्वयमा सिरहा जिल्ला प्रशासनले उक्त हललाई बन्द गरेको हो ।

बोर्डले केही दिनअघि गैरकानूनी हलहरूलाई कार्वाही गर्न निर्देशन दिँदै सिरहा, मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटा जिल्लाका प्रशासन र कर कार्यालयलाई पत्राचार गरेको थियो ।

बोर्डका अध्यक्ष दिनेश डीसीले गण्डकी प्रदेशका हलहरूको अनुगमन गरिरहेका छन् भने बोर्डका अन्य १२ जना कर्मचारी देशभरका हलहरूको अवस्था बुझ्न खटिएका छन् ।

बोर्डले गैरकानूनी गतिविधिमा संलग्न हलहरूलाई कानूनी दायरामा आउन आग्रह गर्दै उल्लंघन जारी राखेमा कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

चलचित्र विकास बोर्डको पत्रअनुसार स्थानीय प्रशासनले सिरहाको बुद्ध चलचित्र मन्दिरसहित अन्य जिल्लाका हलहरूमाथि पनि निगरानी बढाएको छ । यो अभियानअन्तर्गत चलचित्र विकास बोर्डले अन्य ९ हललाई पनि छिट्टै कानूनी कार्वाहीको दायरामा ल्याउने तयारी गरिरहेको छ ।

“हाम्रो आग्रहलाई अटेर गर्ने हलहरूले दोब्बर जरिवाना तिर्नुपर्नेछ । साथै, उनीहरूको इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिहरूले जीवनभर हल सञ्चालन गर्न नपाउने अवस्था आउन सक्छ,” बोर्ड अध्यक्ष डीसीले भने ।

चलचित्र क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन यस प्रकारका कार्वाहीहरू आवश्यक रहेको चलचित्र विकास बोर्डले जनाएको छ । कानूनी संरचना भित्र आएर कार्य गर्न बोर्डले सबै हल संचालकलाई पुनः आग्रह गरेको छ।