रोज राणाको पाँच वर्षदेखि ‘खलनायक–२’ बनाउने चर्चा, यसपालि पनि चर्चामात्रै कि बनाउलान् ?
काठमाडौं । राजनीतिज्ञ तथा निर्माता रोज राणाले आफ्नो हिट चलचित्र ‘खलनायक’ को दोस्रो शृंखला बनाउने चर्चा चलेको पाँच वर्षभन्दा बढी समय भइसक्यो ।
यद्यपि, ‘खलनायक २’ को छायांकन समेत अहिलेसम्म हुन सकेको छैन । हाल लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री समेत रहेका रोज राणा बल्ल अहिले आएर चलचित्रको तयारीमा सक्रिय देखिएका छन् ।
यसअघि अरू कसैले निर्देशन गर्ने भनिएको चलचित्रको निर्देशकका रूपमा चन्द्र पन्तलाई लिइएको जानकारी दिएका छन् । चन्द्रले निर्देशन गरेको चलचित्र ‘ह्रस्व दीर्घ’ हालै प्रदर्शनमा आएको थियो । रोज राणाका अनुसार चलचित्रको कथा मौनता श्रेष्ठले लेखिरहेका छन् । चलचित्रका लागि गीतको जिम्मा गीतकार दयाराम पाण्डेलाई दिएका छन् ।
माघदेखि छायांकन सुरू गर्ने तयारी रहेको उनको भनाइ छ । रोज राणाका अनुसार पहिलेको झैं एक्सन र लभस्टोरी जनरामै चलचित्र बन्नेछ । कथाको खाका तयार भएपछि कलाकारहरू छनोट गरिने उनले बताएका छन् ।
डेढ दशकअघि रिलिज ‘खलनायक’ मा अभिनेता राजेश हमाल, निखिल उप्रेती र विराज भट्टको प्रमुख भूमिकामा काम गरेका थिए । जसलाई दर्शकले रूचाएका थिए । दोस्रो शृंखलामा पनि पुराना कलाकारसँग सहकार्य गर्ने सम्भावना रहेको रोजले बताएका छन् । नयाँ र पुरानालाई लिएर चलचित्र बनाउने उनको भनाइ छ ।
धेरै वर्षदेखि ‘खलनायक २’ को चर्चा गरिरहेका रोज राणा यसपटक चलचित्रको तयारीमा सक्रिय देखिएका छन् । तर, लामो समयदेखि चर्चा गर्ने, फेरि सेलाउने गरेका कारण अहिले पनि बन्छ भन्ने कुरामा अन्यौलता भने यथावत छ ।