निर्माताले चाहेर पनि हलबाट नउत्रिने भयो ‘पूर्ण बहादुरको सारङ्गी’, किन ?
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमा हलबाट नउत्रिने भएको छ । निर्माताले सोमबारबाट हलबाट चलचित्र उतार्न चाहे पनि नउत्रिने भएको हो ।
‘पुष्पा–२’ रिलिज भएपछि ‘पूर्ण बहादुरको सारङ्गी’ चलिरहेको अवस्थामा पनि नगन्य शो पाएको र पाएका शो पनि अफटाइममा पाएको, थोरै सिट क्षमता भएका स्क्रिन दिएको भन्दै निर्माताले सोमबारबाट चलचित्र उतार्ने बताएका थिए ।
विज्ञप्ति जारी गर्दै सिनेमा हलबाट उतार्ने निर्णय सेभेन सिजले सार्वजनिक गरेको थियो ।
तर, कागजी रुपमा वितरक र प्रदर्शक माथि परेकाले सिनेमा निर्माताको निर्णयपछि पनि चलचित्र नउत्रिने भएको छ । “हामीले चलचित्र पूर्ण बहादुरको सारङ्गी सोमबारबाट देशभरका हलबाट उतार्ने निर्णय गरेका हौँ । वितरक र प्रदर्शकले मानेनन्,” निर्माता विनोद पौडेलले भने, “कागजी रुपमा हामी तल परेकाले चलचित्र चाहेर पनि उतार्न सकेनौँ ।”
सिनेमा हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई शो पनि नदिने र नउतार्ने पनि अवस्था आएको निर्माता पौडेलले जानकारी दिए ।
‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै ५० करोडको छेउछाउमा कलेक्सन गरिसकेको छ । ओभरसिज मार्केटबाट पनि ठूलो परिमाणमा कलेक्सन गरिरहेको छ ।
कात्तिक १५ गते रिलिज भएको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । सरोज पौडेलले यो चलचित्रलाई निर्देशन गरेका छन् ।