‘दुखी आत्मा’ चलचित्रमा श्रवण मुकारुङका कविता समावेश

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ मा चर्चित कवि श्रवण मुकारुङका कविता समावेश गरिएको छ । मुकारूङले दीपेन्द्र लामा निर्देशित यो चलचित्रका लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । ती कविता चलचित्रको पटकथा अनुसार मिलाएर राखिएको बताइएको छ ।

‘माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे’ जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू चलचित्रमा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनले भनेका छन् ।

चलचित्रको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले बताएका छन् । मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राईमाथि फिचरिङ गरिएको बताइएको छ ।

‘कवि मुकारुङका कविताले चलचित्रको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो,’ निर्देशक लामाले भनेका छन् ।

‘दुखी आत्मा’ क्लक वर्क कृएसनको ब्यानरमा बनेको हो । हिमाल कडरियाको निर्माण, सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङसहित आँचल शर्मा,अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन् । आलोक शुक्लाले चलचित्र खिचेका हुन् ।

चलचित्र भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गते रिलिज हुनेछ । यसलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।