समीरका अगाडि चुनौतीको पहाड

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले २६ करोडभन्दा माथि व्यापार गरेको दाबी गरिरहँदा यसको जस समीर भट्टले लिए । निर्देशक विराज भट्टले पनि समीरलाई नै यसको जस दिए ।

विराजले मात्रै होइन मिडिया र दर्शकले पनि ‘१२ गाउँ’ चल्नको कारण समीर नै भएको ठाने । मिडियाले त्यही अनुसारको समाचार बनाए । दर्शकको प्रतिक्रिया पनि त्यस्तै आयो ।

टेल एण्ड हेनडसम, सुगठित शरीर, यसअघि कहिल्यै नदेखिएको अनुहार अनि मुम्बइमा १० वर्षको अथक मेहनत गरेको हिरोको सिनेमा भनेर प्रचार भएपछि ‘१२ गाउँ’ले व्यापारमा ‘छक्का पञ्जा’लाई समेत पछि पारिदयो ।

उनै हिरो समीर अहिले अर्को फिल्मको सेटमा छन् । सन्तोस सेनको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘बलिदान’को छायांकनमा छन् । ‘बलिदान’ कस्तो बन्छ अहिले दर्शकको ध्यान त्यसमा छ । असली परीक्षण हुने चलचित्र पनि हो यो उनका लागि ।

‘१२ गाउँ’मा पाएको तारिफलाई ‘बलिदान’मा बर्करार राख्न सक्छन् वा सक्दैनन् भन्नेमा धेरैको चासो छ । उनले ‘१२ गाउँ’मा देखाएको एक्सनले यसमा निरन्तरता पाउँछ कि पाउँदैन, त्यसलाई मन पराउँछन् वा होइन भन्नेमा धेरैको पर्खाइ छ ।

उनको क्रेज कति छ, समीरले गर्दा नै १२ गाउँ चलेको हो कि होइन त्यसको परीक्षण ‘बलिदान’मार्फत हुनेछ । त्यसैले ‘बलिदान’ वास्तबमै समीरका लागि चुनौतीपूर्ण चलचित्र हो । किन की असली परीक्षण पहिलो होइन दोस्रो चलचित्रमा हुन्छ ।

यसमा पनि ‘१२ गाउँ’मा जस्तै उनको क्रेज देखियो, सिनेमा चल्यो भने उनको हाइट साँच्चै बढ्नेछ । समीरले आफूलाई प्रमाणित गर्नेछन् । समीले प्रमाणित गर्न पनि उनका लागि यो सिनेमा चल्नै पर्नुपर्ने छ । चलेन भने ‘१२ गाउँ’ले दिएको उचाइ घट्नेछ । शाख ओरालो लाग्नेछ ।

तर, ‘बलिदान’ सन्तोष स्वयंले पनि आफ्नो मेगा प्रोजेक्ट भन्दै कडा मिहिनेत गरिरहेका छन् । उनी यो चलचित्र सफल हुनेमा ढुक्क छन् ।