निर्मातालाई हलको बक्सअफिस रिपोर्ट हेर्नबाट बञ्चित नगर

नेपाली चलचित्र उद्योगमा प्रदर्शक (सिनेमा हल सञ्चालक) र निर्माता सधैँ आमनेसमाने भइरहन्छन् । शो बाँडफाँट र बक्सअफिसको पारदर्शितालाई लिएर प्रदर्शक र निर्माता आमनेसामने हुने गरेका छन् ।

शो बाँडफाँटलाई लिएर पछिल्लो समय ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘राधा’, ‘दिमाग खराब’, ‘बेहुली फ्रम मेघौली’, ‘पूर्ण बहादुरको सारङ्गी’लगायत चलचित्रका निर्माताले आवाज उठाए ।

‘पूर्ण बहादुरको सारङ्गी’ले पारदर्शिताको प्रश्न उठाउँदै आफ्नो चलचित्र नै केही हलबाट उतार्ने भन्दै विज्ञप्ति नै जारी गर्यो । फेक बक्सअफिसि रिपोर्ट दिएको भन्दै त्यस्ता हलबाट सिनेमा उतार्ने निर्णय गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले गरेको यो निर्णयको प्रर्दशकले खण्डन गर्दै आरोप पुष्टि गर्न प्रमाण देखाउन भन्यो । सेभेन सिस सिनेमाले निर्माण गरेका र वितरण गरेका चलचित्र नै प्रदर्शन नगर्ने निर्णय गर्यो ।

यो विज्ञप्तिवाजीले समस्या कुन तहसम्म छ भन्ने छर्लङ पारेको छ । निर्माता र हल साउबीचको चिसो र तिक्ततापूर्ण सम्बन्धलाई उजागर गरेको छ ।

यो समस्याको जड भने बक्सअफिस जडान नहुनु नै हो । रियलटाइम बक्सअफिस जडान हुने र त्यसमा निर्माताको एक्सेस हुने हो भने धेरै हदसम्म समस्याको समाधान हुन्छ ।

तर, संघले निर्मातालाई बक्सअफिस रिपोर्ट नै माग्ने अधिकार छैन भनेको छ । लगानीकर्ता नै बक्सअफिस रिपोर्ट हेर्नबाट भने बञ्चित हुनु हुँदैन ।

यो व्यवस्था सम्बन्धित पक्ष बसेर बक्सअफिस रिपोर्ट हेर्न, शंका लागेमा सिधै हलसँग रिपोर्ट मागेर वास्तविकता अध्ययन गर्नसक्ने प्रावधान भने गरिनुपर्छ । सिस्टममा पैसा वितरकबाट आए पनि हिसाब हेर्नबाटै निर्मातालाई बञ्चित गराइनु भने उचित होइन ।

एमजीमा वितरकले हललाई चलचित्र बेच्ने गरेको भन्ने कुरा पनि आएको छ । यो अवस्था हो भने यस्ता वितरकलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।

यो सम्भावनालाई रोक्न पनि शंका लागे वा विशेष अवस्थामा निर्माताले हलसँग हिसाब माग्ने प्रावधान गरिनु उचित हुन्छ । आफ्नै लगानीको प्रतिफलबारे तत्काल जान्न पाउने अधिकारबाट निर्मातालाई बञ्चित गराइनु हुँदैन । यसले निर्मातालाई सिनेमामा लगानी गर्न इन्करेज गर्दैन । वितृष्णा बढाउँछ ।

चलचित्र क्षेत्रमा बेथितिको चाङ छ । यसलाई नियमन गर्ने निकाय चलचित्र विकास बोर्ड नै हो । बक्सअफिसलाई कसरी प्रभावकारी बनाउने त्यो बोर्डले नै गर्ने हो ।

बोर्डले बक्सअफिस प्रणालीलाई दरिलो बनाएर नियमित अनुगमन गर्ने र दोषी भटिए प्रदर्शक र वितरकलाई कारबाही गर्ने हो भने पटकपटक प्रदर्शक र निर्माता आमनेसामने हुने अवस्था स्वत हटेर जान्छ ।