पहिला रिलिज डेट नतोक, चलचित्र बनाऊ

केही दिन अगाडि चलचित्र ‘छक्का पञ्जा–५’ को पोस्टर सार्वजनिक भयो । पोस्टरमा लेखिएको थियो– इन सिनेमाज असोज २४ । अर्थात् चलचित्र असोज २४ गते रिलिज हुनेछ । फर्स्ट लुक पोस्टर सार्वजनिक हुँदाका दिनसम्म सिनेमा छायांकनमा गएको थिएन । पहिला पोस्टर रिलिज भएर छायांकनमा गयो ।

यो पछिल्लो उदाहरण मात्र हो । यस्ता थुप्रै सिनेमा छन्, जो छायांकनमा जानु अगाडि नै प्रदर्शन मिति तय गर्छन् । यही ‘छक्का पञ्जा–५’ले पनि दशैँमा रिलिज हुने घोषणा गरेको थुप्रै महिना अगाडि हो ।

चलचित्रको घोषणा नगर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरिसक्छन् । यो नेपाली चलचित्र उद्योगको ठूलो समस्या हो । यसलाई ‘रोग’ नै भने पनि हुन्छ । जसले यो उद्योगलाई अधोगतितर्फ धकेलिरहेको छ ।

रोगले सँधै शरीर, समय र पैसाको बर्बादी गर्छ । व्यक्तिलाई कमजोर बनाउँछ । त्यस्तै यो रोगले चलचित्रमा गरेको लगानी, समय र मिहिनेत बर्बाद गरिरहेको छ ।

सिनेमा बन्ने कहिले हो थाहा छैन अगाडि नै प्रदर्शन मिति लिने रोगले पनि निर्माता÷निर्देशक र चलचित्रलाई बर्बादीतिर लगिसकेको छ । लगिरहेको छ । र, लगिरहने पनि छ ।

केही समय अगाडि मात्र प्रदर्शनमा आएको उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मनसरा’ राम्रो हाइप हुँदाहुँदै पनि चलेन । निर्देशकसँग चलचित्र ‘जारी’ निर्देशन गरेको ब्रान्ड थियो । कबड्डी फिल्म्सको ब्यानर थियो । बजारमा चलेका र दर्शकले पत्याएका कलाकार चलचित्रमा थिए । तर पनि चलचित्र जति चल्नुपर्ने हो चलेन । जति तारिफ दर्शक र समीक्षकबाट पाउनु पर्ने हो पाएन ।

पछि यसको कारण के हो भनेर समीक्षा गर्दा लेखक तथा निर्देशक हतारमा सिनेमा बनाउनु पनि एउटा कारण हो भन्ने निष्कर्षमा पुगेको सुनिएको थियो । सुरुमै प्रदर्शन मिति लिएर फ्लोरमा जानु नै गल्ती भएको निष्कर्षमा निर्देशक पुगेका सूचना आएको थियो ।

‘डिग्री माइला’को अवस्था पनि त्यस्तै थियो । स्क्रिप्ट नै नलेखी छायांकनमा गएको टिप्पणी नै भयो । सेटमै स्क्रिप्ट तयार गर्दै छायांकन भएको हल्ला चलचित्र उद्योगमा भुसको आगो झैँ सल्कियो ।

केही वर्ष अगाडि फर्किने हो भने चलचित्र ‘क्याप्टेन’ रिलिज हुने दिनसम्म पनि यसको काम सकिएको थिएन । भीएफएक्सलगायत धेरै काम बाँकी नै थियो । सिनेमा हलमा रिलिज भएको केही दिनपछिसम्म पनि करेक्सन गर्दै हलमा नयाँ फाइल पठाउने काम भइरहेको थियो । यी त भए हाइप भएका चलचित्रको अवस्था ।

हाइप नै बनाउन नसकेका, नयाँ मेकर र कलाकारका तथा नयाँ र कमजोर ब्यानरका सिनेमाको काम कसरी भइरहेको होला माथिका तथ्यबाटै अनुमान लगाउन सकिन्छ । हलमा दर्शक पुग्दा फाइनल फाइल पुग्दैन । प्रिमियरमा समीक्षक, पत्रकार, पाहुना र समकालीनलाई बोलाउँदा सिनेमा हलमा पुगेको हुँदैन । अनि कसरी बन्छ राम्रो चलचित्र ।

चलचित्र सिर्जना हो । धेरै विधा एउटैमा समेटिएको विधा हो । साहित्य, अभिनय, संगीत, चित्रकलालगायत धेरै विधाको समिश्रण हो । त्यसैले यसमा हतारभन्दा पनि समय लिएर गर्ने काम गर्नुपर्छ । पटक पटक दोहो¥याएर हेरेर करेन्सन गर्दै फाइनल गर्नुपर्छ । बिग्रिएको ठाउँमा सच्च्याउनुपर्छ । सके र मिले केही विज्ञलाई देखाएर प्रतिक्रिया लिन सक्नुुपर्छ ।

नेपालमा अभ्यास छैन । तर, विश्वका ठूला थुप्रै सिनेमा उद्योगले सडकमा हिँडिरहेका रेन्डम दर्शकलाई लिएर हलमै चलचित्र देखाएर फिडब्याक लिन्छन् । फ्रेस पब्लिक अथवा आम दर्शकले चलचित्र मन पराउँछन् कि पराउँदैनन्, उसबाट कस्तो प्रतिक्रिया आउँछ भनेर देखाउँछन् । त्यसरी आउने फिडब्याक अनेस्ट हुन्छ भन्नेछ । अनेस्ट फिडब्यकलाई सिनेमाको मर्म नबिग्रिनेगरी ‘इनक्लुड’ गर्छन् ।

नेपाली निर्माता/निर्देशकले यति गर्न सके राम्रो । नसके कम्तीमा ऊ स्वयंले दोहोर्‍याई/तेहेर्‍याई हेर्नुपर्छ । आफैंलाई लागेको करेक्सन गर्नुपर्छ । अनि मात्रै राम्रो चलचित्र बन्ने सम्भावना हुन्छ ।

प्रदर्शन मिति जति नजिकिँदै जान्छ, त्यति नै दबाब महसुस गरेर लटरपटरमा काम गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म सम्भावना बोकेका चलचित्रकर्मीबाट नै राम्रो चलचित्र आउँदैन । त्यसैले हतारमा काम गरेर फुर्सदमा पछुताउनेभन्दा पनि फुर्सदमा राम्रो काम गरौँ । राम्रो चलचित्र दर्शकलाई दिउँ । अनि मात्रै दर्शकले पैसा तिर्छन्, चलचित्रलाई । फोटकटको चलचित्र बनाएर दर्शक आउने अपेक्षा गर्नु त आफैँमा मुर्खपन होइन र ? त्यसैले पहिला डेट तोकेर सिनेमा बनाउनतिर होइन पहिलो चलचित्र बनाएर डेट तोक्नेतिर लागौँ ।