सौरभ चौधरीको एक्सन सिनेमा ‘कर्मा’को छायांकन सुरु

काठमाडौं। निर्देशक सौरभ चौधरीको नयाँ एक्सन ड्रामा चलचित्र ‘कर्मा’को छायांकन दाङको घोराहीबाट सुरु भएको छ । शुक्रबार शुभ-मुहुर्तसँगै छायांकन थालिएको यस चलचित्रमा मुख्य कलाकारका रूपमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव देखिने छन् ।

चलचित्रको छायांकन ४० दिन दाङ र ६ दिन रुकुममा हुने बताइएको छ । यो चलचित्रमा अभिनेता विपिनलाई पहिलो पटक एक्सन अवतारमा देख्न पाइनेछ । अभिनेत्री उपासना ठकुरी, अभिनेता विपिन कार्कीको जोडीका रूपमा पर्दामा देखिनेछिन् ।

यस चलचित्रमा मुकुन भुसाल नेगेटिभ क्यारेक्टरमा प्रस्तुत हुनेछन् । यो चलचित्रमार्फत विपिन र उपासनाले पहिलो पटक सहकार्य गर्दैछन् ।

‘कर्मा’को कथा निर्देशक चौधरीले नै लेखेका हुन् । यसअघि चौधरीले निर्देशन गरेको ‘अगस्त्यः च्याप्टर–१’बाट दर्शक र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त गरेको कारणले गर्दा ‘कर्मा’बाट पनि ठूलो अपेक्षा गरिएको छ ।

बसन्त लम्सालको लगानीमा निर्माण भइरहेको यो चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहनेछ। चलचित्रले प्रदर्शनमा आउनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ ।

‘कर्मा’ आगामी नयाँ वर्षको छेको पारेर चैत्र २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।