विपिन र मिरुना बिनै सुरु भयो ‘ऊनको स्वीटर’
चलचित्र ‘ऊनको स्वीटर’को मुहूर्तसँगै छायांकन सुरु गरिएको छ । आइतबार पाँचथरस्थित साधुटारमा शुभमुहूर्तपछि छायांकन थालिएको हो ।
नवीन चौहानको निर्देशनमा बन्ने यस चलचित्रको ३५ दिनको सेड्युल तय गर्दै छायांकन सुरु गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
निर्देशक चौहानको पहिलो फिचर फिल्म हो । यस अघि उनले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका थिए । नवीनका ‘तीनपाते’, ‘के माया लाग्छ र ?’ जस्ता चर्चित भिडियो पर्छन् ।
यस चलचित्रमा नवीनकै लेखन छ । उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन् । सिनेमामा विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका रहने छ । तर उनीहरु केही दिनपछि मात्र छायांकनमा जोडिनेछन् ।
चलचित्रमामा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।
नृत्यमा पारंगत मानिने पारसलेयसै सिनेमाबाट अभिनयमा डेब्यु गरेका हुन् । उनले नवीनकै निर्देशनमा बनेको ‘फुलथुंगे रानी’ गीतमा पनि काम गरेका थिए । पारसले नृत्य गरेको फिल्म ‘ऐंचो पैंचो’को ‘काले केटाले’ गीत निकै चर्चित छ ।
चलचित्रमा चिन्तनराज भण्डारीको छायांकन रहनेछ । सिनेमालाई यो वर्षको शरद ऋतुमा रिलिज गर्ने योजना निर्माण टिमको छ ।