दसैँमा च्याँखे थाप्दै निर्माता, दाऊ पर्ला त ?

काठमाडौं । यसपालिको दसैँमा ३ वटा नेपाली चलचित्रको भिडन्तले सिनेक्षेत्र राम्रैसँग गर्मायो । नेपाली चलचित्र एकापसमा भिड्दा सबैलाई घाटा हुन्छ भन्ने टिप्पणी विपरीत दसैँमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुवैले आक्रामक व्यापार गरे । सँगै रिलिज अर्को चलचित्र ‘ज्वाइँसाब’ ले पनि निर्मातालाई निराश पारेन ।

यसरी एकसाथ धेरै चलचित्र रिलिज हुँदा पनि व्यापारिक सफलता पाएपछि निर्माताहरू चाडवार्ड (विशेष गरी दसैँ) लाई मध्यनजर गर्दै चलचित्र ल्याउन अग्रसर देखिएका छन् । दसैँलाई लक्षित गर्दै चलचित्रको निर्माण र प्रदर्शन मिति तय गर्न व्यस्त देखिएका छन्। आधा दर्जन बढी निर्माताहरू अहिल्यै आउँदो दसैँलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यही अवस्था रहे आउँदो दसैँमा आधा दर्जन चलचित्रले ‘च्याँखे दाउ’ थाप्ने देखिन्छ ।

शनिबार मात्रै निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र ‘दशमी’ को निर्माण घोषणा गरे । सँगै चलचित्र आगामी दसैँ २०८२ को दसैँमा प्रदर्शनमा आउने समेत घोषणा गरियो ।

यसअघि रोहित अधिकारीले आफ्नो चलचित्र ‘माइतीघर’ आगामी दसैँमा आउने घोषणा गरिसकेका छन् । सुशील पोखरेलको निर्माणमा बन्न लागेको ‘परालको आगो’ को प्रदर्शन मिति २०८२ सालको दसैँ घोषणा गरिएको छ ।

परिच्छेद सेनले निर्देशन गर्ने ‘महाराजधिराज’, सरोज न्यौपानेको ‘फनफनी घुमेर’ पनि आगामी दसैँमा आउने बताइएको छ। बुझिएअनुसार बाँसुरी फिल्मबाट कुनै एउटा चलचित्र (कबड्डी ५ वा जारी २) पनि दसैँमा ल्याउने योजनाका साथ तयारी अगाडि बढेको छ । अशोक शर्मा र विराज भट्ट पनि आफ्नो नयाँ चलचित्र आगामी दसैँमा रिलिज गर्ने मनस्थितिमा रहेको बुझिएको छ ।

अन्य केही निर्माताले पनि आगामी दसैँमा चलचित्र ल्याउने गरी तयारी गरिरहेका छन् । पहिल्यै घोषणा गर्ने तर समयमा चलचित्र छायांकन नसक्ने तथा पूर्वनिर्धारित मितिमा रिलिज नगर्ने त नेपाली निर्माताको रोगै हो । तसर्थ घोषणा भएका सबै चलचित्र दसैँमा आउनेमा शंका हुनु स्वभाविक हो ।

यद्यपि, घोषणा गरिएका आधा मात्रै चलचित्र आए भने पनि तीन-चारवटा चलचित्र जुध्ने आँकलन गर्न सकिन्छ । कति चलचित्र आउलान्, कति बिचमै सेलाउलान् त्यो त हेर्न बाँकी नै छ ।