महाशिवरात्रिमा ‘हेभिवेट’ भिडन्त, थपियो ‘फेरि रेशम फिलिली’
काठमाडौं । आगामी महाशिवरात्रि (फागुन १४ गते)मा चलचित्र ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आउने भएको छ । २०७२ सालमा प्रदर्शन भएको सुपरहिट सिनेमा ‘रेशम फिलिली’को दोस्रो श्रृंखला रहेको यो चलचित्रको आइतबार बेलुका पोस्टर सार्वजनिक गरिएसँगै प्रदर्शन मिति घोषणा गरिएको हो ।
मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई पात्रको लुक्समा प्रस्तुत गरिएको पोस्टरमा उनीहरूबीचको प्रेमभावलाई झल्काउन खोजिएको छ । सार्वजनिक पोस्टरमा सुपुष्पाले हातमा रातो गुलाब लिएर मुस्कुराउँदै गरेकी छन् भने विनय आकाशतिर हेर्दै हात जोडेका छन् ।
पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन् । अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन् । ‘रेशम फिलिली’माविनयको जोडी मेनुका प्रधानसँग थियो भने यस पटक मेनुका दोहोरिएको देखिएको छैन ।
सिनेमामा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।
सिनेमा आर्ट्सको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन छ ।
निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ । चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
यस वर्षको महाशिवरात्रिमा महाभिडन्त हुने पक्का भएको छ । ‘फेरि रेशम फिलिली’सँगै ‘लाज शरणम्’ र ‘मायावी’ प्रदर्शन हुने भएकाले सिनेमा हलमा चौतर्फी प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
यी सिनेमा रिलिज भएको दुई दिनपछि प्रदर्शन हुने भनिएको ‘होस्टेल-३’ फागुन १६ मा नआउने भएको छ । ‘फेरि रेशम फिलिली’ र ‘होस्टेल-३’को वितरक एकै भएकाले पछाडि सरिएको बुझिएको छ ।
‘फेरि रेशम फिलिली’ले पहिलो श्रृंखलाजस्तै दर्शकको माया र सफलता पाउने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ । तर, एकै दिन तीनवटा चलचित्र आउँदा शो बाँडफाँटमा भने समस्या हुनेछ । निकै न्यून संख्यामा यी चलचित्रले शो पाउनेछन् । वर्ड अफ माउथ जसको राम्रो हुनेछ, उसैले दोस्रो दिनबाट शो बढाउनेछ ।
मल्टिप्लेक्सको संख्या थपिए पनि तीनवटा चलचित्र एकै दिन रिलिज हुँदा शो अपुग हुन्छ । दुईवटा चलचित्र भने एकै दिन आउँदा पनि शो अपुग नहुने वितरकहरूले बताउँदै आएका छन् ।