विजय बरालले ४० लाख पारिश्रमिक लिन थालेका हुन् ? निर्माताले गाडी किन्दिन लागेका हुन् ?

काठमाडौं । कलाकार विजय बरालले आफूले ४० लाख रुपैयाँ पारिश्रमिक मागेको विषयको खण्डन गरेका छन् । आफूले अहिले कुनै पनि चलचित्र साइन नगरेको र पारिश्रमिकका विषयमा कुनै निर्मातासँग कुरा पनि नभएको दाबी गरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ व्यवसायिक रूपमा सफल भएपछि विजयले ४० लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुरामा सत्यता नरहेको उनले बताएका हुन् ।

“मैले आजसम्म कसैसँग पारिश्रमिकको कुरा गरेको छैन । ए हो त्यस्तो कुरा आइसकेछ ? मलाई त थाहै छैन,” ४० लाख रुपैयाँ पारिश्रमिक डिमान्ड गर्नुभयो रे नि हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “यस्तो समाचार र गसिप बन्नु त राम्रो हो । तर, यो पत्रकार साथीभाइले मलाइ गर्नु भएको माया हो ।”

मंगलबार राजधानीमा भएको ‘हरि हजुरबा’ नाटक मञ्चनपछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले स्क्रिप्टसम्म पढ्न नभ्याएको बताएका छन् । उनले भनेका छन्, “स्क्रिप्ट पढ्नै पाएको छैन । जसको पढिरहेको छु, उहाँहरूसँग कुरा भइरहेको छ ।”

अहिले आफू नाटकको तयारीमा रहेको र नाटकको मञ्चन सकिएपछि मात्रै सिनेमाबारे काम अगाडि बढाउने बताए ।

त्यसो भए अब चलचित्रमा तपाईंको डिमान्ड कति हो त भन्ने प्रश्नमा उनले थपे, ‘पहिला स्क्रिप्ट पढौं । डिमान्ड गर्ने त्यसपछिको कुरा हो । त्यही पनि “मेरो धेरै डिमान्ड भन्ने कुरै छैन । ठिक्क मिलाएर लिने हो । इच्छा त हुन्छ, मेरो कामको यति पैसा आओस् भन्ने, तर ठ्याक्कै यति नै डिमान्ड भन्ने छैन,” उनले प्रष्ट पारे ।

‘पूर्ण बहादुरको सारङ्गी’ व्यवसायिक रूपमा सफल भएपछि निर्माण टिमले गाडी खरिद गरिदिने सहमति भएको हो भन्ने प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । “ए त्यत्तो कुरा पनि आइसकेछ ? त्यस्तो भए त मेरा लागि राम्रो कुरा हो,” उनले अगाडि थपे, “तर, यसबारे पनि निर्माणपक्षसँग केही कुरा भएको छैन ।”

नेपाली सिने वृत्तमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिमले विजयलाई ५० देखि ६० लाख रुपैयाँको ईभी किनिदिने बचन दिएको हल्ला छ । ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य कलाकार विजय हुन् । यो चलचित्रमा विजयको दर्शकले खुलेर तारिफ गरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।

विजय ‘हरि हजुरबा’को कञ्चमा तीन हप्ता देखिनेछन् । त्यसपछि उनी चलचित्रमा फर्किनेछन् । ‘बरिष्ठ बलराम’ उनले साइन गरिसकेका छन् । त्यसपछि उनी अरु चलचित्रमा काम गर्नेछन् । ‘बरिष्ठ बलराम’ पछि उनको चलचित्र कुन हुनेछ त्यो भने निश्चित नभइसकेको उनले बताए ।