सलोन बस्नेतको ‘रंगी’को प्रदर्शन मिति घोषणा
काठमाडौं । बाबुछोरीको कथामा आधारित नेपाली चलचित्र ‘रंगी’को पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्र आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रको पोस्टरमा सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई गम्भीर भावमा प्रस्तुत गरिएको छ । ग्रामीण पृष्ठभूमिमा तयार पारिएको पोस्टरले दर्शकलाई चलचित्रप्रतिको उत्सुकता बढाएको छ । मोसन पोस्टरमा भने सलोन, आयुषीसँगै डेब्यु नायिका तथा ‘मिस वर्ल्ड नेपाल २०२०’ की विजेता नम्रता श्रेष्ठलाई समेत समावेश गरिएको छ ।
सुरेश न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहेको छ ।
चलचित्रका लेखक सुमन गजमेर हुन् भने छायांकन सौरभ लामाले गरेका छन् । संगीतमा दुर्गेश थापा, आमेश भण्डारी, भीम बिसी, तथा स्वरमा आनन्द कार्की, समीक्षा अधिकारी, सुजता केसीलगायतको योगदान रहेको छ । चलचित्रको कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीले गरेका छन् ।
बाल कलाकारको रूपमा ‘नेपाली बाबु’ चलचित्रबाट यात्रा सुरु गरेका सलोन बस्नेतले यो चलचित्रमार्फत निर्माता रूपमा डेब्यु गरेका हुन् । ‘होस्टल’ जस्ता लोकप्रिय चलचित्रबाट अभिनेता रूपमा पहिचान बनाएका सलोनले ‘रंगी’लाई दर्शकका लागि विशेष परियोजना बनाएका छन् ।
निर्देशक सुरेश न्यौपानेले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’जस्ता चर्चित चलचित्रमा सहायक निर्देशनको भूमिका निर्वाह गरेका थिए । ‘रंगी’ उनको डेब्यु निर्देशन हो ।
प्रिज्मा श्रेष्ठको मेकअप र आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइनमा प्रचार सामग्री तयार पारिएको चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
‘रंगी’ बाबुछोरीको भावनात्मक कथा भएकाले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा निर्माण टोलीले राखेको छ ।