नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण वैशाखमा हुने, चलचित्र दर्ता आह्वान
काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाखमा आयोजना हुने भएको छ ।
विगत चार वर्षदेखि नेपाली ग्रामीण कथामा आधारित चलचित्रलाई प्राथमिकता दिँदै आएको यस महोत्सवले नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।
सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सवको उद्देश्य ग्रामीण बजारमा नेपाली चलचित्र पुर्याउँदै पर्यटन प्रवर्द्धन गर्नु रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।
सापकोटाका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरूलाई समावेश गरिनेछ । महोत्सवका लागि फिल्म दर्ता खुला गरिएको जानकारी दिँदै उनले डकुमेन्ट्री, शर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका चलचित्रहरूलाई सहभागी गराइने बताए ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ आयोजना हुने यो महोत्सवमा गाउँले परिवेशमा निर्माण भएका स्वदेशी चलचित्रहरूलाई प्रोत्साहन गरिनेछ । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरिनेछ भने उत्कृष्ट सिनेमालाई अवार्ड प्रदान गरिने योजना रहेको छ ।
महोत्सवका क्रममा फिल्म प्रदर्शनसँगै ग्रामीण परिवेशलाई समेटेर निर्माण गरिएका फिल्मको महत्त्व, दर्शकको चाहना र ग्रामीण फिल्म क्षेत्रको सम्भावना सम्बन्धी अन्तरक्रिया तथा कार्यशाला गोष्ठीहरू पनि आयोजना गरिनेछ।
पहिलो संस्करण गोरखाको लाप्राकमा, दोस्रो संस्करण काभ्रेको भकुण्डेबेसीमा, र तेस्रो संस्करण रामेछापमा सम्पन्न भएको महोत्सवले यसपटक पनि नेपाली मौलिक फिल्मलाई ग्रामीण दर्शकहरूमाझ पुर्याउँदै भाषा, संस्कृति र स्थानीय पर्यटनको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवले ग्रामीण कथावस्तुमा बनेका फिल्महरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र नेपाली फिल्मप्रति दर्शकलाई आकर्षित गराउँदै नियमित फिल्म हेर्ने संस्कृति विकास गर्ने उद्देश्य राखेको अध्यक्ष सापकोटाले जानकारी दिए।