८ महिनापछि हलमा सौगात, सिनेमाको तातिरहेको माहोलले निरन्तरता पाउला ?

काठमाडौं । अभिनेता सौगात मल्ल ८ महिनापछि पर्दामा देखिन लागेका छन् । यसअघि गत चैतमा रिलिज ‘द रेड सुटकेस’ मा शीर्ष भूमिकामा देखिएका उनी अभिनीत नयाँ चलचित्र ‘बम बहादुर’ शुक्रबार रिलिज हुँदैछ ।

उसो त असार ७ मा केही हलमा लागेको चलचित्र ‘आचार्य’ मा सौगात केमियो रोलमा थिए । भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक यो चलचित्र रि–रिलिज गरिएको थियो ।

एक समय सौगातका चलचित्र धमाधम रिलिज हुने गरेकोमा यसपटक उनी शीर्ष भूमिकामा रहेको चलचित्र महिनौंपछि रिलिज हुन लागेको हो ।

अर्कोतर्फ, मंसिर ७ देखि नयाँ नेपाली चलचित्र रिलिज नभएको अवस्थामा एक महिनापछि हलमा नेपाली चलचित्र प्रदर्शनमा आउन लोगेको हो ।

तर, लामो समयपछि नेपाली चलचित्र प्रदर्शनमा आउँदा हलले शोे भने न्यून दिएका छन् । क्युएफएक्स, आईएनआई सिनेमाज, विग मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्समा चलचित्रको शो न्यून छ ।

चलचित्रको चर्चा पनि खास्सै देखिँदैन । उसो त अभिनेता सौगात मल्ल अर्को चलचित्र ‘बलिदान’ को छायाँकनमा रहेकाले ‘बमबहादुर’ को प्रचारमा खुलेर लाग्न सकिरहेका छैनन् ।

पछिल्लो समय एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार गर्दै माहोल तताइरहेका थिए । कात्तिकमा रिलिज ‘पूर्णबहादुरको सारंगी’ अझै हलमा छ । मंसिर ७ मा रिलिज चलचित्र ‘तेल भिसा’ पनि हलमा टिकिरहेको छ ।

यो माहोलमा नयाँ रिलिज हुन लागेको ‘बम बहादुर’ ले पनि राम्रो व्यापार गर्नुपर्ने चुनौती छ । तर सामान्य हल्लाखल्लाबीच रिलिज हुन लागेको र शो पनि न्यून पाएका कारण यसले अगाडिदेखि तातिरहेको माहोललाई निरन्तरता देला कि सेलाउला ? त्यो भने चलचित्रको वर्ड अफ माउथमा निर्भर हुनेछ ।

‘बम बहादुर’ जोन राईले निर्देशन गरेका हुन् । चलचित्रमा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, शान्तिला तामाङ लगायत कलाकारहरूको अभिनय छ ।