‘वसन्त’ ३८ दिनमा इन्डक्ल्याप, सोचे जस्तो रिजल्ट निस्कनेमा प्रकाश सपूत ढुक्क

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशकीय सिनेमा ‘वसन्त’को छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको छायांकन इन्डक्ल्याप भएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो ।

आगामी चैत २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेकाले आफूले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपूतको विश्वास छ ।

गायक तथा निर्देशक सपूतको बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।

सिनेमामा प्रकाश सपूतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन, शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ ।

यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपूतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समूदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।