माघ २५ मा आउँदै ‘जुना’

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहीत गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ ।

जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ ।

निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको उनले बताए ।

चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डीओपी छ ।