विपीन र मुकुनसँग प्रतिस्पर्धामा उत्रिदै सौगात, प्रदीप र दयाहाङ, दर्शकले कसलाई देलान् साथ ?
काठमाडौं । चैत २९ गते दुईवटा एक्सन सिनेमाबीच प्रतिस्पर्धा हुने भएको छ । एक्सन सिनेमा भनेर प्रचार गरिएका दुईवटा चलचित्र एकै दिन एकअर्काबीच प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नयाँ वर्षलाई लक्षित गर्दा ‘कर्मा’ र ‘पिताम्बर’ आमनेसामने हुने भएका हुन् । यी दुई चलचित्र एकअर्काबीच प्रतिस्पर्धा हुँदा निर्देशकका रुपमा सौरभ चौधरी र कृषा चौलागाईं आमनेसामने हुनेछन् ।
सौरभले ‘कर्मा’ र कृषाले ‘पिताम्बर’ निर्देशन गरेका छन् ।
यी दुई चलचित्र एकै दिन आउँदा बजारमा अहिलेका रोजाइका कलाकारबीच पनि प्रतिस्पर्धा हुनेछ ।
‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको अभिनय रहनेछ ।
‘पिताम्बर’ भने ग्याङस्टार चलचित्र हो । यसमा कसले कति स्क्रिन टाइम पाएका छन्, त्यो चलचित्र हेरेपछि नै थाहा हुनेछ । तर, यसमा अधिकांश अहिलेका नाम चलेका कलाकार छन् ।
सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय रहनेछ ।
यी दुई सिनेमा एकै दिन आउँदा सौगात, प्रदीप र दयाहाङ राईको सामना विपीन, उपासना र मुकुनले गर्नुपर्नेछ । दिव्यदेवका लागि भने यी दुई चलचित्र समान रहनेछन् । किन भने यी दुवै चलचित्रमा उनी छन् ।
एक्सन जनराका चलचित्र एकै दिन आउँने हुँदा एक्सन चलचित्र रुचाउने दर्शकका लागि कुन हेर्ने विकल्प रहनेछ । छुट्टटाछुट्टै समयमा आइदिएको भए हार्डकोर एक्सन सिनेमा नछुटाउने दर्शकलाई थप सहज हुनेथियो ।
चलचित्र ‘पिताम्बर’ केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् ।
चलचित्र ‘पिताम्बर’ ५ करोड बजेट लाग्ने निर्माणपक्षले जनाएको छ । यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।
‘कर्मा’को छायांकन चलचिरहेको छ । यस चलचित्रमा मुकुन भुसाल नेगेटिभ क्यारेक्टरमा प्रस्तुत हुनेछन् । यो चलचित्रमार्फत विपिन र उपासनाले पहिलो पटक सहकार्य गर्दैछन् ।
‘कर्मा’को कथा निर्देशक चौधरीले नै लेखेका हुन् । ‘पिताम्बर’ भने प्रतिप भारद्वाजले लेखेका छन् ।
‘कर्मा’ वसन्त लम्सालको लगानीमा निर्माण भइरहेको यो चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहनेछ ।