कला क्षेत्रको खबरदारी र तथ्य समाचारका लागि आर्टखबर
अनलाइन आम नागरिकको जीवनशैली हो । पत्रकारिता ०७० को दशकमा छापा, रेडियो र टेलिभिजनबाट अनलाइनमा सिफ्ट भयो । छापाको क्रेज क्रमशः ओरालो लाग्दा अनलाइन पत्रकारितामा आकर्षण बढ्यो । यो क्रम उकालो लागिरहेको छ । इन्टरनेट प्रयोगकर्ताको संख्या जति बढ्दैछ, त्यति नै अनलाइन प्रयोगकर्ताको संख्या पनि थपिदै जानेछ । यही कारण अनलाइन मिडियाको संख्या अनपेक्षित रूपमा बढिरहेको छ । आर्थिक रूपमा कति सवल छन्, त्यो अर्को पक्ष हो । विज्ञापनको बजार नबढ्ने तर मिडियाको संख्या मात्रै बढ्दा आर्थिक संकट पनि अरुजस्तै अनलाइन मिडियाका लागि चुनौती बनेको छ ।
तर यो सत्य हो, भविश्य अनलाइन पत्रकारिताकै हो । फरक यति हो, यससँगै जोडिएर के–के आउँछ भन्ने मात्र हो । अनलाइन पत्रकारिताको भिडमा आजबाट हामी पनि थपिएका छौँ । हाम्रो उद्देश्य संख्या थप्ने मात्र होइन, व्यवसायिक पत्रकारिता गर्ने हो । विश्वस्नीय पत्रकारितामा खडेरी छ । यसको संकट टार्नु हाम्रो एकमात्र उद्देश्य हुनेछ ।
अन्य विधाको तुलनामा कला–साहित्यमा विश्वस्नीय पत्रकारिताको झन ठूलो खडेरी छ । पुस्तक समीक्षा मिडिया हाउस स्वयंले कमै लेख्छन् । लेखकले समीक्षा लेख्छन् । एउटा सर्जक तथा स्रष्टाले अर्को सर्जक तथा स्रष्टाको समीक्षा लेखिरहेको अवस्था छ । यस्ता समीक्षा वास्तवमा समीक्षा नभएर बखान हुन् । अर्मपर्म हुन् । भोलि आफ्नो पुस्तक आउँदा त्यसको बखान छाप्न आज लगाएको पर्म हो । यसलाई चिर्नु हाम्रो उद्देश्य हुनेछ ।
चलचित्रका समीक्षा आज सबैभन्दा धेरै पाठकले खिसिट्युरी गर्ने सामग्री बनेका छन् । चलचित्रका विज्ञापनसँग समीक्षा साट्ने प्रचलन नै बनिसकेको आरोप लाग्ने गरेको छ । यसबाट टाढै बसेर वस्तुनिष्ट भएर समीक्षा गर्ने उद्देश्यबाट हाम्रो कलम डगमगाउने छैन । हामी विचलित हुने छैनौँ ।
सिनेमाका समाचार भनेका निर्माणको घोषणा, पोस्टर, टिजर, ट्रेलर, गीत सार्वजनिक तथा रिलिज र गसिपमात्रै हो भन्नेजस्तो भाष्य निर्माण भएको छ । यसबाट बाहिर निस्किएर सिनेमाका पनि गम्भीर समाचार सामग्री हुन्छन् भन्ने नयाँ तथ्य स्थापित गराउनु हाम्रो लक्ष्य हुनेछ । सत्यतथ्य उजागर गर्दै पाठकलाई सही सूचना दिने हामी प्रतिबद्धता जनाउछौँ । सिनेमा जस्तै संगीत र नाटकमा पनि हाम्रो कलम त्यसरी नै चल्नेछ । व्यक्ति वा संस्थासँगको निकटता, भावना र विज्ञापनभन्दा पनि हाम्रो प्राथमिकता तथ्यमा रहेर पाठकलाई सही सूचना र जानकारी दिनु हुनेछ । हामी कला क्षेत्रको उन्नयनका पक्षपाति भएकाले गुण र दोषका आधारमा खबरदारी गरिरहने छौँ । बिग्रिदै र नासिदै गएको कला क्षेत्र विशेषगरी चलचित्र उद्योगलाई खबरदारीको ठूलो आवश्यकता छ । विज्ञापनसँग समाचार साट्ने प्रचलनलाई हटाउन ढिलो भइसकेको छ । निकटताका कारण कमजोरीलाई नजरअन्दाज गरेर बखान गर्ने प्रवृत्तिलाई चिर्नु छ । भइरहेका कमजोरीलाई सुधार्न टिप्पणी आवश्यक छ । दैनिक घटनाक्रममा आफ्नो विचार राख्दै सुझाव पस्किने विषयकेन्द्रित सञ्चारमाध्यमको अभाव छ । त्यसैले टिप्पणी र साप्ताहिक रूपमा नियमित सम्पादकीय हाम्रा विशेष सामग्री हुनेछन् । यसले कला क्षेत्रमा एउटा इटा थपिने हाम्रो विश्वास छ ।
पत्रकारिता त्यतिबेलासम्म जिवित रहन्छ, जबसम्म पाठकको विश्वास रहन्छ । प्रतिक्रिया र सुझाव हाम्रा लागि मार्गदर्शन हुनेछ । हाम्रो पहिलो उद्देश्य नै पाठकको मन जित्नु हुनेछ । त्यसैले पाठक र विज्ञापनदाताको सुरुदेखि नै हामीलाई सधैँ हौसला र विश्वास प्राप्त हुने अपेक्षा गर्दछौँ । पाठक र विज्ञापनदाताले गर्ने विश्वासमा हामी घात नगर्ने प्रण गर्छौं । यसका लागि तपाईंले दिने सूचना र विज्ञापन नै हाम्रा लागि सहयोग हुनेछ । हाम्रो अस्तित्वको आधार हुनेछ । त्यसैले हातेमालो गर्दै यात्रा अघि बढ्ने हाम्रो विश्वास छ ।