karsang
Close Me

टिक्न सकेन बक्स अफिसको उत्साह

काठमाडौं । अघिल्लो वर्षको अन्त्यदेखि नेपाली सिनेमाको बक्स अफिसमा उत्साह देखिएको थियो । एकपछि अर्को नेपाली चलचित्रले बक्स अफिसमा राम्रो उपस्थिति जनाएका थिए । बलिउड र हलिउडका सिनेमाभन्दा नेपाली चलचित्रमा बक्स अफिस राम्रो देखिएको थियो ।

चैत ९ मा ‘महाजात्रा’ रिलिज भयो । यसले अनपेक्षित कलेक्सन गर्यो । चैत ३० मा ‘डिग्री माइला’ आयो । अपेक्षित नभए पनि पाँच करोडको आंकडा कटायो ।

१४ वैशाख ‘बोक्सीको घर’ रिलिज भयो । यसले अनपेक्षित कलेक्सन गयो । दश करोडको आंकडा पार गर्यो । वैशाख २१ मा ‘मनसरा’ आयो । यसले पनि ‘डिग्री माइला’ले जस्तो नकमाए पनि राम्रै कलेक्सन गर्यो ।

त्यसपछि रिलिज भयो वर्षकै प्रतिक्षित ‘गाउँ आएको बाटो’ । नवीन सुब्बाको सिनेमा २३ वर्षपछि हलमा रिलिज हुँदैथियो । त्यसैले धेरैले यो सिनेमाप्रति व्यग्रप्रतिक्षा थियो । तर उनको चलचित्रले प्रदर्शनको चार दिनसम्म पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन । बिदाको दिन केही राम्रो अकुपेन्सी देखिए पनि अरु दिनमा दर्शकको बाक्लो उपस्थिति देखिएको छैन । पूर्वी नेपालमा भने यो चलचित्रले दर्शकको साथ पाएको छ । तर तीन दिनसम्म यो चलचित्र करोड क्लबमा प्रवेश गर्न नसकेको स्रोत बताउँछ ।

यहीसँगै रिलिज भएको चलचित्र ‘लण्डन टु पेरिस’ले पनि बक्स अफिसको उत्साहलाई निरन्तरता दिन सकेन । निर्देशक घनश्याम लामिछाने आफूले निर्देशन गरेको चलचित्र ‘लण्डन टु पेरिस’ एभरग्रिन लभस्टोरी भएको दाबी गर्दै आएका थिए । तर, उनको दाबी अनुसार चलचित्रमा दर्शकको उपस्थिति हलमा देखिएको छैन । यसको बक्स अफिस कलेक्सन पनि उत्साहजनक छैन । जुन हलको बुकिङले पनि पुष्टि गर्छ ।

स्टारडमले पनि बक्स अफिसमा प्रभाव पार्न सकेन । ‘गाउँ आएको बाटो’मा अहिलेका पहिलो रोजाइमा अभिनेता दयाहाङ राई थिए । निर्देशक नवीन सुब्बाको आफ्नै ब्रान्ड छ, निर्देशकमा रुपमा । ‘नुमाफुङ’ जस्तो मौलिक चलचित्र बनाएका उनको निर्देशकीय ब्रान्डले पनि बक्सअफिसको उत्साहलाई निरन्तरता दिन सकेन ।

‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह थिइन् । लण्डन र गोहामा खिचिएको भनेर प्रचार गरिएको थियो । तर यो सिनेमाका यी कुनै पनि पक्षले बक्सअफिसमा सकारात्मक छाप छोड्न सकेनन् ।
अन्ततः गत वर्षको चैतको पहिलो हप्तादेखि बक्स अफिसमा देखिएको उत्साहजनक रिपोर्ट पुनः खस्किन पुगेको छ । बक्स अफिसको निरन्तरतामा ‘ब्रेक’ लागेको छ ।

पछिल्लो समय सिनेमा हल नेपाली चलचित्रको कमाइले धानिदै आएको स्वयं हल सञ्चालकले बताउँदै आएका छन् । विदेशी सिनेमा नचले पनि नेपाली सिनेमा चल्दा हल सञ्चालकले राहतको महसुस गरेका थिए ।