‘अब नाच्छ अमेरिका’, ‘अब हाँस्छ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’ हुँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला, संस्कृति र मनोरञ्जन प्रवद्र्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य कार्यक्रम आयोजना हुने भएको छ । फ्लाइ नेपाको आयोजनामा हुने यस कार्यक्रम ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा प्रस्तुत हुनेछ ।

आगामी सन् २०२५ को फेब्रुअरीदेखि अप्रिलसम्म सञ्चालन हुने यो कार्यक्रमको बारेमा जानकारी दिदैँ आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले भने, ‘यसअघि आयोजित कार्यक्रमबाट सकारात्मक ऊर्जा मिलेको छ। यसपटक अझै सभ्य र भव्य रुपमा प्रस्तुतिका लागि हामी तयारी गरिरहेका छौं ।’

‘अब नाच्छ अमेरिका २’ मा गायक बद्री पङ्गेनी, प्रताप दास, गायिका कला लम्साल, र एलिना चौहानले आफ्नो प्रस्तुती दिनेछन् ।
‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले कविता वाचन र साहित्यिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, र सुजीता श्रेष्ठ लगायतले दर्शकलाई हँसाउने विशेष प्रस्तुती दिनेछन् ।

गायिका कला लम्सालले विशेष तयारी भइरहेको बताउँदै भनिन्, ‘हामी यस पटक नयाँ र फरक प्रस्तुती दिन उत्साहित छौं। दर्शकलाई नचाउन र रमाइलो गराउन विशेष योजना बनाएका छौं ।’

यो कार्यक्रम अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा आयोजना हुनेछ ।

फ्लाइ नेपाका आयोजकले यस कार्यक्रमले नेपाली कला, संस्कृति र मनोरञ्जनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।