‘करोडपति’ले भुवनलाई घर दियो, ‘करोडपति–२’ले अनमोललाई के देला ?
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका नायक भुवन केसी नयाँ चलचित्र निर्माणको तयारीमा छन् । बोर्डबाट साउन ९ गते पदमुक्त हुने भएपछि उनी चलचित्र निर्माणमा जुट्ने तयारीमा छन् ।
भुवन चलचित्र ‘करोडपति’को सिक्वेल बनाउने तयारीमा रहेको स्रोत बताउँछ । उनको यो चलचित्र बक्सअपिसमा हिट भएको थियो । यही चलचित्रबाट उनले काठमाडौंमा नयाँ घर किनेका थिए ।
भुवन स्क्रिप्ट डक्टर मनोज पण्डितसँग स्क्रिप्टमा बसेको स्रोतले बताएको छ । नाम ‘करोडपति’ राख्ने वा ‘अर्वपति’ यसमा भने उनी निष्कर्षमा पुगिनसकेको बताइएको छ ।
चलचित्रको मुख्य भूमिकामा अनमोल केसी रहनेछन् । अनमोलका लागि यो चलचित्र कति फलदायी हुन्छ त्यो भने चलचित्र बनेर रिलिजपछि मात्रै थाहा हुनेछ । तर, पछिल्लो समय अनमोललाई अरुका ब्यानर त्यति धेरै फापेको छैन ।
स्क्रिप्ट राम्रो भए भुवन आफैँ निर्देशन गर्ने सोचमा समेत रहेको स्रोत बताउँछ । अहिले स्क्रिप्टका विषयमा भुवनले अनमोल र मनोजसँग बसेर सल्लाह गरिरहेका छन् ।
चलचित्रमा अनमोल र भुवनबाहेक को कलाकार हुने, स्क्रिप्ट कसले लेख्ने भन्नेबारे तय भइनसकेको स्रोतले बताएको छ । ‘करोडपति’ २७ वर्षअगाडि निर्माण भएकाे थियाे । किशाेर रानाले निर्देशन गरेका थिए ।