पुष्पा २: बलिउडको एक सय वर्षको इतिहासमा कीर्तिमानी कमाइ गर्ने सिनेमा
काठमाडौं । बलिउडको एक सय वर्षको इतिहासमा नयाँ रेकर्ड राख्दै ‘पुष्प २ : द रुल’ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । यो सिनेमाले केवल १५ दिनमै ६ सय ९२ करोड रुपैयाँ कमाउँदै बलिउडको अहिलेसम्मका चलचित्रहरूलाई पछि पारेको हो ।
‘पुष्पा २’ले आफ्नो प्रदर्शनको पहिलो सातामै ४ सय ३३ करोड रुपैयाँको कमाइ गरेको थियो । पहिलो दिनमै १ सय ६४ करोड कमाउँदै यसले ऐतिहासिक सुरुवात गर्यो । त्यसपछि दैनिक रूपमा क्रमशः ९३, ११९, १४१, ६४, ५१, ४३, ३७ करोड रुपैयाँको शानदार कमाइ गरेको थियो ।
दोस्रो सातामा ‘पुष्पा २’ले १ सय ९९ करोड रुपैयाँ कमाउँदै आफ्नो बलियो पकड कायम राख्यो । यसले ‘तेस्रो सप्ताहन्तको शुक्रवार साढे १२ करोड, शनिबार २० करोड र आइतबार साढे २७ करोडको कमाइ गर्यो ।
७ सय करोड क्लबमा पहिलो भारतीय फिल्म
‘पुष्पा २’ हिन्दी भाषामा ७ सय करोड रुपैयाँ कमाउने पहिलो भारतीय सिनेमा बनेको छ । यसअघि कुनै पनि हिन्दी सिनेमाले यो आँकडा पार गर्न सकेको थिएनन् । यसले स्त्री २, बाहुबली, जवान, पठान, दंगल, र गदर २ जस्ता चर्चित चलचित्रका रेकर्डलाई तोडिदिएको छ ।
भारतमा मात्र १ हजार ६२ करोड रुपैयाँ कमाइ गरेको यो सिनेमाले अन्तर्राष्ट्रिय बजारमा पनि शानदार प्रदर्शन गर्दै १६ सय करोड रुपैयाँभन्दा बढी कमाएको छ ।
‘पुष्पा २’ बलिउडको इतिहासमा मात्र होइन, सम्पूर्ण भारतीय चलचित्र उद्योगकै लागि महत्वपूर्ण बनेको छ । सात वर्षअघि रिलिज भएको ‘बाहुबली २’ ले भारतमा १ हजार ३० करोड रुपैयाँ कमाएको थियो। अब पुष्पा २ ले त्यो रेकर्डलाई पनि चुनौती दिएको छ।
अन्तर्राष्ट्रिय रेकर्ड
बलिउडको दंगल सिनेमा, जसले अन्तर्राष्ट्रिय बजारमा २ हजार करोड रुपैयाँ कमाएको थियो, अझै पनि शीर्ष स्थानमा छ। तर पुष्पा २ ले आफ्नो तेज गतिमा यसको नजिक पुग्ने सम्भावना देखाएको छ।
‘पुष्पा २’ को सफलताको पछाडि उत्कृष्ट कथा, दमदार अभिनय, र प्राविधिक पक्षको उच्च स्तर रहेको छ । अल्लु अर्जुनको प्रभावशाली अभिनय, थ्रिलिङ गीत/संगीत र पावरफुल डाइलगले दर्शकलाई सिनेमाघरमा बाँधेर राख्न सफल भएको छ ।
यो सिनेमाको सफलता बलिउडका लागि मात्र होइन, सम्पूर्ण भारतीय चलचित्र उद्योगको लागि ऐतिहासिक क्षण बन्न सफल भएको छ । ‘पुष्पा २’ ले नेपाली दर्शकमाझ पनि गहिरो प्रभाव छोडेको छ ।