चलचित्र ‘बम बहादुर’को चार दिनको कलेक्सन नौ लाख
काठमाडौं । चलचित्र ‘बम बहादुर’ले चार दिनमा नौ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बम बहादुर’ले सोमबारसम्म देशभरबाट करिब नौ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको स्रोतले बताएको छ ।
सौगात मल्ल स्टारर चलचित्रले पहिलो दिन ६० शो पाएको थियो । चार दिनमै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘बम बहादुर’लाई उतारिसकेको छ ।
अन्य केही मल्टिप्लेक्स र सिंगल थिएटर गरी करिब १० वटा शोमा अहिले यो सिनेमा सीमित भएको छ । बुधबार पनि देशभर यो करिब दशवटा शो मा यो चलचित्र प्रदर्शन हुनेछ ।
खासै हाइप बनाउन नसकेको यो सिनेमाले व्यापार पनि राम्रो गर्न नसकेको हो । अब कुनै अनपेक्षित परिणाम नदेखिए यो चलचित्रको शो बढ्ने छैन । त्यसैले यसको व्यापार पनि ठूलो संख्यामा बढ्ने सम्भावना कमै छ ।
चलचित्र ‘बम बहादुर’मा अभिनेता सौगात मल्ल विद्रोही भूमिकामा देखिएका थिए ।
चलचित्रले दार्जिलिङ क्षेत्रको कथा उठान गरेको थियो । ‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक संघर्षलाई चित्रण गरेको थियो ।
जोन राईले निर्देशन गरेको चलचित्रमा १९८० को दशक अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित थियो ।
चलचित्रमा सौगात मल्लसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङलगायतको अभिनय रहेको थियो ।