स्टेजका व्यस्त दुर्गेशलाई पर्फमर र गायकको भेद थाहा छैन ?
काठमाडौं । दुर्गेश थापा स्वयंम आफूलाई म गायक होइन भन्छन् । बेलाबेला विवादमा आउँदा उनले आफू गायक नभइ पर्फमर भएको स्पष्टीकरण दिन्छन् । जबजब उनको गायकीमा प्रश्न उठ्छ दुर्गेशक पफर्मर भएको बताउँछन् ।
मोडलिङमा राम्रो पहिचान बनाएका उनी मेला–महोत्सवमा भने निकै खोजिने व्यक्ति हुन् । हिजोआज देशभर मेला–महोत्सव भइरहेका छन् । यस्ता महोत्सवमा दुर्गेश रोजाइमा पर्छन् । उनको फेसबुक पेज पनि महोत्सवमा दर्शक झुमाएका तस्बिरमय देखिन्छ ।
जो स्वयं आफूलाई गायक होइन भन्छन् उनै महोत्सवमा किन सर्वाधिक खोजिन्छन् ? महोत्सव आयोजकका अनुसार दुर्गेशको स्टेज प्रस्तुति माहोल तताउने खालको हुन्छ । कतिपय नाम चलेका गायक/गायिका पनि महोत्सवमा प्रस्तुतिले दर्शक उफार्न सक्दैनन् । तर, दुर्गेशमा आफ्नो प्रस्तुतिले दर्शकलाई तान्न सक्ने र स्टेज तताउन सक्ने खुबी भएकैले धेरै खोजिने गरेको आयोजकहरु बताउँछन् । महोत्सवमा उनी गाउनेसँगै नाच्छन् पनि । यो पनि उनलाई खोजिनुको कारण हो ।
गीतलाई लिएर बेलाबेला विवाद भए पनि उनको फ्यान फ्लोइङ राम्रो छ । उनलाई हेर्न दर्शकको भीड लाग्छ ।
दुर्गेश थापा, गायक हुन् वा पर्फमर भन्ने बहस धेरै अगाडिदेखिको हो । यसमा उनले आफूलाई पर्फमर भन्छन् । तर, गीत गाउन पनि छोडेका छैनन् ।
तर, यथार्थमा गायक भनेकै पर्फमर हुन् । प्रस्तोता हुन् । गीत र संगीत गाउने अथवा प्रस्तुत गर्ने पर्फमर अथवा प्रस्तोता हुन् । गायकहरूको संस्था नै छ, प्रस्तोता समाज । दुर्गेशले प्रस्तोता भनेकै गायक हो भन्ने बिर्सिएछन् कि थाहै पाएनन् ?
अरुको गीतमा पर्फम गर्ने मात्रै हो भने दुर्गेशले भनेजस्तो पर्फमर हुँ भन्न सकियो र मिल्यो पनि । तर, गीत आफैँ गाउने । आफ्नो गीतमा आफैँले स्टेज कार्यक्रममा गीत पनि गाउने अनि जब गायकीको कलात्मकपक्षको कुरा उठ्छ अनि पर्फमर मात्रै हुँ भन्न सुहाउँछ र दुर्गेशजी ?